७ जेठ,रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कोरोना भाइरसको यो महामारीमा वर्तमान राज्य व्यवस्थाले स्वास्थ्य क्षेत्रलाई सही तरिकाले परिचालन गर्न नसक्दा देशव्यापी रुपमा अस्पतालका कर्मचारी र बिरामीहरूमा विभिन्न समस्याहरू उत्पन्न भइरहेको बताउनु भयो ।
उहाले अस्पतालमा अक्सिजन अभावका कारण जनताले अकालमा ज्यान गुमाउन नपरोस् भनेर मानव जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताउनु भयो ।
डा. राजेन्द्र खनालले कोभिड–१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण लाखौ जनताको ज्यान गएको बताउनु भयो ।
अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितीमा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विभिन्न राजनीतिक दल पूर्ण बफादार भई लाग्नुको साटो कुर्ची र सत्ता प्राप्तिको लागि लिप्त रहेको बताउनु भयो ।
संयोजक विरेन्द्रले देशमा दलाल संसदीय व्यवस्था रहँदासम्म स्वास्थ्य लगायत यावत् क्षेत्रमा भ्रष्टाचार, दलालीकरण, व्यापारीकरण कायम रहने भन्दै यस प्रकारका सम्पूर्ण समस्याहरूको पूर्ण समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताउनु भयो ।
उहाले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत आफ्नो संगठले देशव्यापी रुपमा मास्क, सेनिटाइजर वितरण, जनस्वास्थ्यसम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस