७ असार,काठमाडौं । रूपा सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि घरबेटी पक्राउ पर्नु भएको छ ।
काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटी विरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
रुपाले घरबेटी पक्राउ परेकोबारे पुष्टि गर्नुृ भएको छ ।
गत मंगलबार बबरमहलमा आमासँग बस्दै आउनु भएकी सञ्चारकर्मी समेत रहनु भएकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताउनु भएको थियो । रुपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुनुहुन्छ ।
रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जाहेरी दिनु भएको थियो । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस