ओलीले पार्टी एकता भंग गर्न खोजेको नेपालको आरोप

७ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न खोजेको आरोप लगाउनु भएको छ ।

कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकोमा उहाले असन्तुष्टि जनाउनु भएको हो ।

कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ नेता नेपालले भन्नु भएको छ ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनु भएको छ ।

नेता नेपालले फेसबुकमार्फत उक्त निवेदनले पार्टी एकता भंग गर्ने आरोप लगाउनु भएको छ ।

उहाले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै विरोध जनाउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस