तिब्बती श्रीमतीको साइनो लगाएर इमेज सहकारीले गर्यो हिनामिना

५ साउन, पोखरा । सिर्जनचोकस्थित इमेज बचत तथा ऋण सहकारीको ताला लगाइएको गेटमा अँध्यारो अनुहार बनाएर टोलाइरहनु भएको थियो ४० वर्षीया शान्ति विक । अहिले उहाँलाई परेको पीडा न खोल्न सक्नु भएको छ न खुसी मनले कसैसँग बोल्न । ७ वर्ष कुवेत बसेर कमाएको १८ लाख रुपैयाँ इमेज सहकारीमा जम्मा गर्नु भएको थियो । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि सहकारीमा रहेको रकमले छोरी पढाउन र केही उद्यम गरेर खाने योजना बुन्नु भएको थियो ।

शान्तिका अनुसार सहकारीका म्यानेजर दीपक पौडेलसँग सूर्यदर्शन सहकारीमा चिनजान भएको थियो । उहाँ पौडेलले इमेज सहकारीमा १६ प्रतिशत ब्याज दिने आश्वासन दिएर पैसा जम्मा गर्न लगाउनु भएको थियो । तर सहकारीका अध्यक्ष देवकुमार नेपाली, म्यानेजर पौडेल सार्वधारणले सहकारीमा रकम हिनामिना गरेर फरार भएपछि शान्तिको दैनिकी अशान्त बनेको छ ।

देवकुमारको श्रीमती छेला तिब्वती नागरिक हुनु हुन्थ्यो । उहाँ मार्फत इमेज सहकारीमा सुरुमै जोडिए, हेमजास्थित तिब्बती शरणार्थी क्याम्पका टासी वाङ्दु । तिब्बती छोरीचेलीले खोलेको सहकारी, त्यसमाथि ब्याज पनि धेरै आउने भएकाले उहाँले नेपाल बैंकमा रहेको पैसा समेत निकालेर यता जम्मा गर्नु भयो । छोराछोरीले विदेशबाट पठाएको पैसासमेत त्यहीँ राख्नु भयो । उहाँले यसरी करिब ७० लाख रुपैयाँ जम्मा गरेको सहकारीका सञ्चालकहरु फरार भएपछि वाङ्दुलाई निन्द्रै पर्दैन । वाङ्दु भन्नुहुन्छ ‘लुकेर हुँदैन, जहाँ भएपनि फर्किएर व्यवहार मिलाइदिनु ।’

टासी वाङ्दु मात्र होइन, हेमजा र पृथ्वीचोकको क्याम्पका धेरै तिब्बतीलाई छेलाले इमेज सहकारीमा जोड्नु भएको थियो । ‘छोरीचेलीले भन्यो भनेर जम्मा गरियो । अहिले आएर घर न घाटको होलाजस्तो भयो’ इमेजमा ५० लाख जम्मा गरेका अर्का तिब्बती नाम्डु लामा भन्नु हुन्छ ‘भागेर हुँदैन, जहाँ भए पनि आऊ र समस्या समाधान गर । बरु हामी पनि सहयोग गर्छौं ।

पसलबाट हुने आम्दानी बचत गर्दा साह्रोेगाह्रो पर्दा तुरुन्तै निकाल्न पाइन्छ, १६ प्रतिशत ब्याज पनि आउँछ भनेपछि कोपिला गैरेले इमेज सहकारीमा पैसा जम्मा गर्न थाल्नु भयो । उहाँको करिव १६ लाख रुपैयाँ बचत थियो । पैसा निकालेर जग्गामा लगाउने योजना बनाउनु भएकी उहाँ सहकारी पुग्नु भयो , तर अहिले निकाल्न नमिल्ने भन्दै पर्काए । २÷४ दिन पर्खिन भनेको सहकारीका अध्यक्षसहित सञ्चालक नै फरार भएको खबर सुनेपछि कोपिलालाई रन्थनाइ लागि रहेको छ ।

शान्ति विक, टासी वाङ्दु र कोपिला गैरे मात्र होइनन्, गाँस कटाएर पैसा जम्मा गर्ने नागरिकदेखि ब्याज धेरै पाउने आशामा डिपोजिट गर्ने इमेज सहकारीका बचतकर्ता अहिले आकुलब्याकुल छन् ।

कतिपय त सहकारीमा रकम राखेको थिएँ भन्न सक्ने अवस्थामा समेत छैनन् । ‘थोरै रकम उभारेर बचत गरेको हो । घर परिवारलाई भनिएको थिएन,’ एक बचतकर्ताले भन्नु भयो , ‘अब पैसा जम्मा गरेको कुरा खुलाउँदा घरमा झन् अविश्वास हुनसक्छ । म त डिप्रेसनमा जान लागिसकें ।’

इमेज सहकारीका संस्थापक अध्यक्ष हुनुहुन्छ जसलाई बागलुङको ढोरपाटन नगरपालिकाका जनताले दुई पटक मेयर जिताएका थिए । तिनै देवकुमारले बागलुङ र पोखरामा इमेज सहकारी सञ्चालन गर्नु भएको थियो । तर दुवै सहकारीको करिव २ अर्ब हिनामिना गरेर उहाँ फरार हुनु भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा उपाध्यक्ष भइसक्नु भएका देवकुमार अध्यक्ष हुन चाहनु हुन्थ्यो । तर सञ्चालक समितिमा आफ्नो नाममा सहमति नजुटेपछि कर्मचारीको टिम नै लिएर सूर्यदर्शनबाट बाहिरिनु भयो । त्यो बेला उहाँलाई साथ दिने व्यक्ति हुनुहुन्थ्यो सूर्यदर्शन सहकारीका व्यवस्थापक दीपक पौडेल । दीपकले नै दिएको सुझाव अनुसार देवकुमारले २०६८ सालमा इमेज सहकारी खोल्नु भयो ।

यसले देवकुमारको अध्यक्ष हुने धोकोमात्र पूरा भएन, रातारात धनी बन्ने माध्यम समेत सहकारीलाई बनाउनु भयो । पोखरामा सहकारी खोलेको अर्को वर्ष उहाँले बागलुङमा इमेज सहकारी नै नाम राखेर अर्को सहकारी खोल्नु भएको थियो । प्रदेश सहकारी रजिस्टार रोशन अर्यालका अनुसार बागलुङमा प्रमुख कार्यालय राखिएको सहकारीले बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्र पनि खोलेको थियो ।
तर बागलुङ र पोखराको सहकारीमा जम्मा भएको रकमलाई देवकुमारले दुरुपयोग गर्ने गरेको पाइएको छ ।

६५ करोड कारोबार गर्ने सहकारीले १५ करोड मात्र ऋण लगानी देखिन्छ । ‘सञ्चालक समितिका पदाधिकारी जो सुकै भएपनि आफ्नै कोटको खल्तीमा राखेको पैसा जसरी सहकारीको पैसा चलाएको देखिन्छ,’ पोखरा महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेलले भन्नु भयो ।
पोखरा महानगरपालिका, सहकारी शाखा प्रमुख भरत पौडेलका अनुसार पोखरामा सञ्चालक समितिदेखि खातासम्म फर्जी बनाएको पाइएको छ । देवकुमार र दीपकले मिलेरै ५० लाख रुपैयाँभन्दा बढीको बचत रकम सिस्टममै नदेखाइएको पौडेलले बताउनु भयो । कीर्ते खाता बनाउने र त्यसैबाट कारोबार गर्ने, जुनसुकै बेला मनपरी पैसा निकाल्ने र व्यक्तिगत प्रयोग गर्ने पाइएको हो ।

सहकारीको रकम हिनामिना गरेका देवकुमारले व्यवस्थापक दीपक पौडेलसँग मिलेर कास्कीमा घडेरी किन्नु भएको थियो ।
‘सहकारीबाट पैसा निकाल्ने ठाउँ ठाउँमा घडेरी किन्ने गरेको देखिएको छ’ पौडेल भन्नु हुन्छ ्, ‘कतिपय बचत सिस्टममै इन्ट्रीसमेत नगरिएको देखिन्छ । ५० लाखभन्दा बढीको बचतै देखिँदैन । जबकि डेढ करोड रुपैयाँसम्म एउटै व्यक्तिले पनि बचत गरेको देखिएको छ ।’

सहकारी समस्या बाहिरिएपछि चैत र वैशाखमा गरी ४ वडा घडेरी बिक्री गरेको पाइएको छ । देवकुमार, उहाँको श्रीमती छेला, व्यवस्थापक दीपक पौडेलको नामबाट रहेको घडेरी बिक्री गरेको देखिएको सहकारी शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो । पोखरा रत्नचोक, शिवालय चोकमा अझै देव र श्रीमतीको नाममा जग्गा देखिएको छ । पोखरा नयाँ बजारमा पनि देवकुमारको घडेरी देखिएको छ ।

सिर्जनचोकस्थित कर्मा कम्प्लेक्स पनि देवकुमारकै नाममा छ । इमेज सहकारी पहिले पोखरा न्यूरोडमा थियो । देवकुमारले २०७१ साउन २९ गते सिर्जना चोकको जग्गा किने, त्यही जग्गामा कर्मा कम्प्लेक्स बनाएपछि त्यही भवनमा सरेको छ ।

इमेज सहकारी पोखराका अध्यक्ष चित्रबहादुर भण्डारी हुनुहन्छ । एक महिनाअघि बागलुङमा पक्राउ पर्नु भएका उहाँ हिरासतमा हुनुहुन्छ ् । अध्यक्ष देवकुमार, व्यवस्थापक दीपक पौडेलसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी भएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनु भयो ।

इमेज सहकारी पीडितले समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार पोखरामा करिब १ हजार जना बचतकर्ता रहेको अनुमान गरिएको बताउनु भयो । अहिलेसम्म ३९४ जनाले जाहेरी दिएका छन् भने ६५ करोडभन्दा बढी रकम बचतकर्ताले दाबी गरेका छन् ।

हेलिकप्टरमा हिँड्थे, ल्याण्ड गर्ने आफ्नै घरको छत हुन्थ्यो । बागलुङ, पोखरामा ठाउँ ठाउँमा दरबारजस्ता भवन थिए । यस्तो व्यक्ति र सहकारी डुब्ला भन्ने कसैले कल्पना नै गरेनन्,’ संघर्ष समितिका अध्यक्ष खत्री भन्नुहुन्छ ्, ‘ढोरपाटन नगरपालिकाका मेयर समेत भएकाले विश्वास गरियो ।’

२०५४ सालबाटै देवकुमारसँग संगत गरेका र सूर्यदर्शन सहकारी हुँदै इमेजसम्म नियालेका ठाकुर सापकोटा सहकारी यो अवस्थामा आउनुमा अध्यक्ष देवकुमार महत्वकांक्षा भएको बताउनु हुन्छ । ‘संस्थालाई संस्थाकै रुपमा चलाउनुहोला भन्ने लागेको थियो । तर संस्थालाई व्यक्तिगत स्वार्थमा लगाउनुभयो,’ सापकोटाले भन्नु भयो , ‘अनुत्पादन र व्यक्तिगत जीवनमै धेरै लगानी गर्नुभयो ।’
पछिल्लो समय सहकारीले पैसा नदिएपछि बचतकर्ता पोखरा महानगरको सहकारी शाखामा पुगेका थिए । रकम हिनामिना भएको गुनासो आएपछि महानगरले सहकारीका अध्यक्ष देवकुमारलाई बोलायो ।
गुनासोपछि २८ वैशाखमा पोखरा महानगरमा आएका देवकुमारले बचकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति गर्नु भयो । ‘३ दिनभित्र सबै विवरण बुझाउने र बचतकर्ताको सबै हिसाब मिलाउने लिखित सहमति नै गर्नु भएको थियो ’ सहकारी शाखा प्रमुख भरतराज पौडेलले भन्नु भयो , ‘जेठ २ गते पनि उहाँ महानगर पनि आएर केही विवरण दिनु भयो । तर पर्सिपल्ट त उहाँ फरार हुनु भएछ ।’
ढोरपाटन नगरपालिकाका मेयर समेत रहनु भएका सहकारी अध्यक्ष देवकुमार ५ जेठदेखि सम्पर्कबिहीन हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस