बाँकेमा १७ सैनिकमा देखियो कोरोना

भाद्र ५ वाँके । बिहीबार बाँकेमा १७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना सेनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले वताउनु भएको छ ।

ती सबै मध्यपश्चिम तालिम शिक्षालय कौशिला नगरका प्रशिक्षार्थीहरू भएको महासेनानी नकुल थापाले जानकारी दिनु भयो ।

‘उहाँहरू सबै प्रशिक्षार्थीहरू हुनुहुन्छ र सबै जवान हुनुहुन्छ,’ थापाले भन्नु भयो ,‘तालिम केन्द्रमा बुटवल लगायत प्रदेशभरिकै प्रशिक्षार्थी रहन्छन्।’

थापाले केही समय पहिले यस्तै तालिम लिन आएकामध्ये ९ जना संक्रमित फेला परेको र उनीहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा थप ४ जनामा संक्रमण फेला परेको थियो । बिहीबार भने थप १७ जनामा संक्रमण भेटिएको उहाले जानकारी दिनु भयो ।

बुटवल लगायतका जिल्लाबाट तालिममा आउनेहरूबाट नै संक्रमण फैलिएको आशंका उहाले व्यक्त गर्नु भयो । बिहीबारमात्र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणका क्रममा नेपाली सेनाका १७ जना सहित २४ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये बाँके जिल्ला स्वास्थ्यमा कार्यरत एक जना नर्स, एक जना समुदायका व्यक्ति र थप ५ जना क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरू रहेको फोकल पर्सन श्रेष्ठले बताउनु भयो ।

योसँगै बाँके जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये ४ सय ९६ जना उपचारपछि घर फर्किसकेका छन् भने २ सय ८७ जना उपचाररत् रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुु भयो । बाँकेका हालसम्म ४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस