कुमार पौडेल भिडन्तमा होइन, अनावश्यक बल प्रयोगमा मारिए

 कार्तिक ४ , काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभएको निश्कर्ष निकालेको छ ।

 

उसले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । ‘दोहोरो भिडन्तमा होइन । अनावश्यक बल प्रयोग गरेर मारिएको हो भन्ने निष्कर्षमा आयोग पुगेको छ’ एक अधिकारीले भने ।

५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा भएको भनिएको दोहोरो भिडन्तमा पौडेल मारिएका थिए ।

प्रहरी दोहोरो भिडन्त भने पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै प्रश्न उठाएका थिए । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर लगायतकै सांसदले मृतकको हात ६/७ ठाउँमा भाँचिएको भन्दै दोहोरो भिडन्त भएको प्रहरी दाबीमा शंका गरेका थिए । मृतकको परिवारको पनि यही दाबी थियो ।

तर गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रशासनले भने पौडल दोहोरो भिडन्तमा नै मारिएको जिकिर गरे ।

यो घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद समेत अवरुद्ध गरेको थियो । उसले संसदीय समिति नै बनाएर छानविन गर्नुपर्ने उसको माग थियो ।

तर मानवअधिकार आयोगले छानविन थालेपछि कांग्रेसले संसदको अवरोध हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस