
९ माघ, धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा समृद्धिको नारा दिएर दलाली गर्ने कामले देश कहिल्यै नबन्ने ठोकुवा गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले कैलालीको धनगढीमा बुधवार आयोजना गरेको बुद्धिजीवीहरुसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै महासचिव विप्लव सीले नारा समृद्धिको दिने र काम दलाली गर्ने कुराले देश कहिल्यै नबन्ने ठोकुवा गर्नु भएको हो ।
उहाँले भन्नु भयो ‘अहिले समृद्धिको नारा होईन, आत्मनिर्भरको नारा चाहिएको छ, नारा मात्र होईन काम चाहिएको छ, पहिला नेता, त्यसपछि कार्यकर्ता र त्यसपछि जनता आत्मनिर्भर हुने कार्यक्रम चाहिन्छ, त्यो भनेको नेपालको खेत हो, नेपालको माटो हो, कुनै विदेशमा जाने लहरले समृद्धि हुदैन, हाम्रो आफ्नै श्रम र समयलाई नेपालमै उत्पादनमा जोडन सक्नु पर्छ ।’
महासचिव विप्लवले नेपालमा टाउकोले टेकको अर्थतन्त्रलाई खुट्टाले टेकाउनु पर्ने बताउदै कम्युनिष्ट आन्दोलनको गलत आर्थिक ट्रयाकलाई बदल्न जरुरी भएको बताउनु भयो ।
‘नेपालका नेताहरुलाई सुख भोग धेरै चाहिएको छ, त्यो पनि श्रम विना चाहिएको छ, श्रम विना खाने कामले भोलि विप्लव पनि चोखो हुदैन’ उहाँले भन्नु भयो, ‘यो सबै भन्दा गलत ट्रयाक हो, माओवादी समेत यहि ट्रयाकले भ्रष्टाचारी, दलाली र घुसघोरी भयो, यो समस्या मैले ०६५ सालमै माओवादीमा देखेको थिए, धेरै वहस पनि भयो, माओवादी भित्रको एउटा तप्का सुधारीने ठाउँमा देखिएन, हामीले नयाँ समाधान दिनको लागि प्रचण्डबाट अलग पनि भयौ, हामीले अहिले नयाँ गर्न खोजेका छौ, देशैभरी पार्टीलाई उत्पादनमा लगाएका छौ, हरेक केन्द्रीय सदस्य उत्पादनमा जोड्ने नीति बनाएका छौ ।’

उहाँले यो बर्ष मात्र १७ सय क्वईटल धान उत्पादन गरेको बताउनु भयो । पार्टी नेता कार्यकर्तालाई खानको लागि चन्दा माग्न नपर्ने पार्टी बताउन लागेको बताउदै महासचि विप्लवले ३ बर्ष भित्र पार्टीलाई आत्मनिर्भर पार्टी बनाउने जिकिर गर्नु भयो ।
उहाँले नेपाली जनताले साथ दिए ०८४ को चुनाव पनि एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्ने बताउनु भयो । उहाँले जनताले केवल ५ वर्षको लागि देश चलाउने जिम्मेवारी दिए देशलाई नयाँ ठाउँमा लिने पनि विश्वास व्यक्त गर्नु भयो ।
उहाँले माओवादीसंगको एकताको सन्र्दभमा बोल्दै एकता गर्न आफ्नो पार्टी सधैभ तयार रहेको तर एकता रुपान्तरण सहित नेकपाले खोजेको बताउनु भयो ।
उहाँले प्रचण्डभित्रका कतिपय माओवादीको बुझाई एकतावारे ठीक नभएको तर्फ संकेत गर्दै एकता गर्दा कोही कसैसंग विलय हुने कुरा होईन, र एमाले माओवादी विचको एकता जस्तो हुने कुरा पनि होईन भन्नु भयो ।
उहाँले नेपालमा दलाल पुँजीवादले जनतालाई दुख दिएको भन्दै यसवाट अगाडि जाने जनताको एक मात्र व्यवस्था नेपाली विशेषताको समाजवाद भएको दाबी गर्नु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘कांग्रेसले भनेको समाजवाद के हो ? अरुले भनेको समाजवाद के हो ? हामी छलफल गर्न तयार छौ, हामी त्यहाँसम्म जान पनि तयार छौ, तर आज कांग्रेस भित्र समाजवाद भन्नु हुदैन भन्ने वहस छ, अरुले पनि समाजवाद भन्ने मात्र गरेको जस्तो देखिन्छ, यो कुराले समाजवाद आउदैन ।’
उहाँले समाजवादका लागि नेपालका वुद्धिजीवीहरुको महत्वपूर्ण योगदान रहने बताउदै अब एकपटक नेकपाले उठाएको नेपाली विशेषताको समाजवाद र उत्पादनको क्रान्तिमा साथ दिन अपिल समेत गर्नु भयो ।
