१० फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी)ले नेपालमा गणतन्त्र नभई लुटतन्त्र आएको भन्दै यसलाई समाजवादमा बदल्नुको विकल्प नभएको बताउनु भएको छ ।
आईतबार नेकपा (माओवादी)को चुनावी भेटघाटका क्रममा रास्कोटको बालुखेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा गणतन्त्र नभई लुटतन्त्र आएको भन्दै यसलाई समाजवादमा बदल्नुको विकल्प नभएको बताउनु भएको हो ।
उहाँले जेनजी आन्दोलनपछि संंविधान र व्यवस्था असफल भएको भन्दै माओवादी संंविधानको पूर्नलेखन गर्न र राज्यको पूर्नसंरचना गर्न चुनावमा आएको बताउनु भयो ।
‘हाम्रो देशमा जेनजी आन्दोलनपछि संविधान र व्यवस्था असफल भयो, हामीले १२ बर्ष अघि संविधान विदेशीको ड्राफ्ट गरेर बनेको भनेका थियौ, आज पुष्टि भएको छ, जसले गर्दा गणतन्त्र दलाल पुँजीपतिवर्गको हालमा पुग्यो, यो गणतन्त्र नभई लुटतन्त्रमा परिणत भयो’ उहाँले भन्नु भयो ।

उहाँले यो चुनाव विगतको जस्तो नभई राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको अधिकारको सुनिश्चिता गर्ने चुनाव भएको बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले आईतबारै पचालझरनाको नुवाघरमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको संघीय समाजवादी व्यवस्थाका र स्वाधीनताको लागि चुनाव हुन गएको बताउनु भयो । उहाँले जनताको प्रतिनिधि नेता र पार्टीलाई विजय गराउन अपिल समेत गर्नु भयो ।
कार्यक्रममा नेकपा (माओवादी)की समानुपातिक उम्मेदवार धिरिन्द्रा उपाध्याय (भृकुटी सी)ले जनताको संविधान बनाउने लडाईमा निरन्तर संघर्ष गरेपनि जनताको संधिवान नबनेपछि सडकमा आएको बताउनु भयो ।

उहाँले जेनजी विद्रोहपछि संविधान विहिन देश बनेको भन्दै संविधानको पूर्नलेखन गर्न र जनताको राज्य व्यवस्था बनाउन चुनावमा आएको जिकिर गर्नु भयो ।
उहाँले यतिवेलाको चुनावमा कर्णालीकै माओवादी आन्दोलनका संस्थापक नेता प्रकाण्डलाई जिताउन आग्रह गर्नु भयो ।
नेता प्रकाण्डलाई स्यूनामा बाजा बजाएर भव्य स्वागत गरिएको थियो । यस्तै फुकोटको चुत्रिकोट र वालुखेतमा पनि बाजा वजाएर भव्य स्वागत गरिएको थियो । नुवाघरमा पनि नेता प्रकाण्डलाई जनताले भव्य स्वागत गरेका थिए ।


