विप्लव नेतृत्वको नेकपामा विभिन्न वामपन्थी दलका ७७ जना प्रवेश

९ बैसाख, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विभिन्न वामपन्थी दलका ७७ जना नेता कार्यकर्ता प्रवेश गरेका छन ।
नेकपाले १५६ औं लेनिन जयन्ती र ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौमा आयोजना गरिएको कार्यक्रममा विभिन्न वामपन्थी दलका ७७ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।
नेकपामा प्रवेश गर्ने नेता कार्यकर्ताहरुमा नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपाने सहित ९ जना, नेकपा एमालेका राजु नेपाली सहित ४ जना, एसएस कलेज कीर्तिपुरबाट वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना रहेका छन ।
यस्तै नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जना गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको नेकपाले जनाएको छ ।
नवप्रवेशीहरुलाई नेकपाका महासचिव विप्लव सी, पार्टी प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरूले स्वागत गर्नु भएको छ । नवप्रवेशीहरुले नेकपा वाहेक अवको समाजवादी क्रान्तिको नेतृत्व अरुले गर्न नसक्ने देखेकाले पार्टी प्रवेश गरेको बताएका छन । महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेकपाका प्रवक्ता प्रकाण्ड सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस