शिक्षकहरुको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र अमानवीय भयोः विप्लव सी

९ बैसाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी शिक्षकहरुको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र अमानवीय भएको आरोप लगाउनु भएको छ ।
१५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित बृहत ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले शिक्षकहरुको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र अमानवीय भएको आरोप लगाउनु भएको हो ।
प्रधानमन्त्री केपी ओलीले शिक्षकहरुको हुर्मत लिने काम गरेको भन्दै महासचिव विप्लव सीले सरकार गैरजिम्मेवार र अमानवीय भएको ठोकुवा गर्नु भयो ।
उहाँले सरकार हदै दर्जाको गैरजिम्मेवार किन भएको हो ? प्रश्न गर्दै शिक्षक आन्दोलन तीन करोड जनताको सरोकारसङ्ग जोडिएको विषय भएको टिप्पणी गर्नु भयो ।
शिक्षकहरुका जायज माग सम्बोधन गर्नुको सट्टा हुर्मत लिने, भ्रष्टाचार लुकाउने, सार्वजनिक शिक्षा अस्तव्यस्त बनाउने निजी स्कुलहरु धमाधम चलाउने गरेको भन्दै महासचिव विप्लवले सरकार भ्रष्टाचार र कुशासनमा डुबेको बताउनु भयो ।
उहाँले अरुसित भिख मागेर खाएर युद्ध नजितिने भन्दै युद्ध जित्न आफै आत्मनिर्भर र सक्षम हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले देशका उद्योग, व्यवसायी, सुकुम्बासीलगायत हरेक क्षेत्रका पीडितले नेकपालाई सम्झने गरेको तथ्य प्रस्तुत गर्दै नेकपा जनताको आशा र भरोशाको केन्द्र बन्दै गएको दाबी गर्नु भयो ।
प्रतिगामी तथा यथास्थितिवादीहरुतिर संकेत गर्दै महासचिव विप्लवले राजासाजा कोहि पनि नआउने बताउनु भयो ।
उहाँले सरकार र संसदवादी पार्टीहरुले आफ्नो अर्बौं भ्रष्टाचार र राष्ट्रघात लुकाउने बहाना गरिरहेका भन्दै अग्रगामी निकास भनेको समाजवादी गणतन्त्र भएको धारणा राख्नु भयो ।
कार्यक्रममा विभिन्न वामपन्थी पार्टीहरु बाट ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस