फेरि संसद पुनर्स्थापना हुने प्रचण्डको विश्वास

८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुृ भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उहाँले बताउनु भएको छ ।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नु भयो, ‘‘फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमुलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै उहाँले यसलाई नेपाली जनताले नसहने वताउनु भयो ।

विपक्षी गठबन्धनले बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।
त्यसका लागि आइतबार १ बजे सांसदहरुलाई नागरिकतासहित बानेश्वरस्थित संसद भवन बोलाइएको छ । ‘भोलि सांसदहरुको हस्ताक्षर संकलन हुन्छ ।

रिटको ड्राफ्ट तयार हुँदैछ । भ्याए भोलि नै, नभ्याए अर्को दिन अदालत जाने निर्णय छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस