जेठ ८, कालिकोट । रास्काेट नगरपालिका वडा नम्बर ८ का ४४ बर्षिय प्रेम दर्जि शनिबार मृत अवस्थामा भेटिएका छन ।
हालै स्थानीय तहको निर्वाचनमा विजय भएका र जेठ ६ गते नगरपालिकाको प्रमुख, उप-प्रमुखकाे विजयी भाेजमा सहभागी हुन सहिद पार्क (बयालपाटा) गएका दर्जि पानिगाैंडाकाे कुलाेमा मृत अवस्थामा भेटिएका हुन ।
उनी लगायत केही दर्जिहरू बयालपाटाकाे भाेज सकेर बाजागाजा सहित उप-प्रमुख मनिराज बरालको घरमा शुक्रबार साझ पुगेका थिए ।
उप-प्रमुख बरालका अनुसार “आफ्नो घरमा रक्सी नदिएको र फ्रुष्टी दिएर राति ८ बजे घरबाट पठाएको थिए । उनले बाहिर रक्सी खाए नखाएकाे थाहा भएन । उनी बगाने खाेलाबाट आफुसँग जाेडिएर घर आएका हुन ।”
मृतक दर्जि दिनभर विजयी भाेजमा रमाएकाे भएपनि साझ आफ्नो घर फर्कन पाएनन् । दर्जिकाे लागि विजयी भाेज नभएर मृत्यु भाेज भएको छ ।
शनिबार साझ ६ बजे तिर पाटेडीलकाे पानिगाैंडाकाे छेडा कुलामा दर्जिकाे शव भेटिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रास्काेट इलाका प्रहरी र सदरमुकाम मान्मबाट आएको प्रहरी टाेलिले घटनाको अवलोकन गरि आइतबार बिहान घटना स्थलको मुचुल्का गर्दै रास्काेट सामुदायिक अस्पतालमा पाेष्टमाटमका लागि शव पठाएको छ ।
शवकाे पाेष्टमाटम गरेपछि अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्राेतले जनाएको छ । मृतक दर्जिकाे श्रीमती बाटुल्लि दर्जिले आफ्नो श्रीमान जेठ ६ गते राति १० बजे सम्म माेबाइल सम्पर्कमा भएपनि राति १२ बजे माेबाइलमा फाेन गर्दा बिरानो आवाज सुनिएको र त्यसपछि सम्पर्क हुन नसकेको बताउनुभयो ।
पारिवारिक श्राेतका अनुसार घटना रहस्यमय भएको र अनुसन्धान गरिनुपर्ने माग छ । मृतक दर्जिसँग राति सम्म सँगै भएका केशव दर्जिका अनुसार “राति ८/९ बजे विजयी भाेजकाे खुसियाली मनाएर आ-आफ्नो घर जान हिडेका थियौं, पानिगाैंडाकाे जगदीश न्याैपानेकाे पसलमा रक्सी छकि भनेर साेध्न आएका थियौं, तर रक्सी नभेटिएपछि आ-आफ्नो घर जाने भनेर छुटियाैं त्यसपछि के भयो थाहा भएन ।”
मृतक दर्जिकाे साथमा रहेको ९७४२९६०९१९ नम्बरको माेबाइल समेत भेटिएको छैन । मृतककाे निधारमा गहिरो घाउ परि रगत बगेको र बायाँ तिरकाे अनुहारकाे हड्डी भित्र दबेकाे छ ।
मृतकको शव कुलामा दक्षिण तिर घाेप्टाे परेको र लडेर खसेको जस्तो पनि नदेखिएको स्थानीयकाे भनाइ छ । घटना स्थल नजिकै रहेको पसलका ब्यापारी जगदीश न्याैपानेका अनुसार “मृत अवस्थामा भेटिएका प्रेम दर्जि सँगै केशव दर्जि र हर्क दर्जि राति १० बजे आफ्नो पसलमा रक्सी खाेजेर आएको र छैन भनेपछि फर्किएका थिए ।”
न्याैपानेले भन्नु भयो “७ गतेको बिहान र दिउँसोसम्म केहि पनि थाहा भएन, आफ्नो पसलबाट साझ ६ बजेतिर बच्चाले लाेहाेटा खसालेर तल झरेपछि आफू लाेहाेटा लिन जादा शव देखे र आकाशबाट खसे जस्तै भए । अनि मदन बराललाई खबर गरे ।”
घटनाको प्रकृति हेर्दा केही असहज देखिएको नवनिर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष स्टारले बताउनु भएको छ । विजयी भाेजमा सहभागीका अनुसार “जेठ ६ गते दिउँसो मृतक दर्जिले नाचगान गर्नुका साथै धेरै रमाइलो गरेका थिए । रक्सी पनि धेरै खाएका थिएनन् ।”
मृतकको आमा औंली दर्जिले विछिप्त हुदै आफ्नो मृतक छाेरा ज्यूदाे बनाइदिन विजयी भाेजकाे आयाेजना गर्ने जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो छाेरा आफै लडेर नमरेकाे र कसैको कर्तव्य बाट मरेको हुनसक्ने आसंका ब्यक्त गर्नुभयो ।
विजयी भाेजमा सहभागीहरूले रक्सी मासु खाएका थिए । बजाउने र नाचगान गर्ने सबै दर्जिहरूले पनि रक्सी खाएका थिए एक विजयी भाेजमा सहभागीले भनेका छन । उनले भने “याे विजयी भाेज नभइ अहिले त मृत्यु भाेज भयो । रक्सी खाने सबै भाेज बन्द गरिनुपर्छ ।”
मृतक दर्जिकाे बसाेवास वडा नम्बर ८ काे लाउका भन्ने ठाउँमा रहेकाे छ । उनका ४ छाेरा, २ छाेरी, श्रीमती र आमा गरि ८ जनाको परिवार रहेको छ ।
प्रहरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताएको छ भने हालसम्म कसैलाई पक्राउ गरिएको छैन । विजयी भाेजमा गएका आफन्त कहिले घर नफर्किने गरि अस्ताएपछि श्रीमती, आमा लगायत सबै घर परिवार आफन्तहरू शाेकमग्न भएका छन ।