८ असार, काठमाडौं । अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
अमेरिकाले गएराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गर्नु भएको हो ।
उहाँले आफ्नो एक्स अकाउन्टमा लेख्नु भएको छ, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु । यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ ।’
उहाँले अगाडि लेख्नु भएको छ, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ । यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति र्पुयाउन सक्छ ।’
गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गर्नु भएको छ ।
उहाँले थप लेख्नु भएको छ, ‘यस संकटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो र शान्ति नै एक मात्र आशा हो ।’
इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो । इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ ।
इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ । इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिनु भएको छ ।
सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।
उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ ।