६ साउन, काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनयुद्ध र मदन भण्डारीको सपना देखाएर कम्युनिष्टहरु सत्तामा जाने खेल भएको आरोप लगाउनु भएको छ ।
मंगलवार पुष्पलालको ४७ औं स्मृति दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव भुसालले जनयुद्ध र मदन भण्डारीको सपना देखाएर कम्युनिष्टहरु सत्तामा जाने खेल भएको आरोप लगाउनु भएको भएको हो ।
उहाँले कम्युनिष्टहरु बेला बेला सत्तामा जाने तर जनताको काम नगर्ने गरेको जिकिर गर्नु भयो । उहाँले पुराना नेतृत्वहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण पनि नगर्ने तर सपना देखाएर मिटर व्याजी जस्तै व्याज खाईरहने गरेको दाबी गर्नु भयो ।
‘म १४ बर्ष जेल बसेको हो । प्रधानमन्त्री चाहियो । म जनयुद्ध लडेको हो, प्रधानमन्त्री चाहियो यस्तो अवस्था छ’ महासचिव भुसालले भन्नु भयो, ‘यो हाम्रो नेतृत्व होकी ? मिटर व्याजीहरुको गठबन्धन हो ? कम्युनिष्ट पार्टी र नेतृत्वले सत्ता वाहेक अरु देख्दैनन् ? नेतृत्वले अरुलाई लडाएको छ , लडेको छ, गुटबन्दी गरेको छ । घुस खाएको छ । यो कस्तो अवस्था आयो ? यसबाट हामी रुपान्तरण हुन सक्छौ कि नाई ? सुशासनको ठाउँमा कुशासन छ, रोजगारीको ठाउँमा वेरोजगारी छ । घुस नखाने पार्टी र राज्य कहिल्य बनाउने ? यो सकिन्छ कि नाई ?’
महासचिव भुसालले नेपालमा दलाल पुँजीवाद मुख्य समस्याका रुपमा देखिएको भन्दै यसबाट मुक्त हुन समाजवाद वाहेक अर्को विकल्प नभएको स्पष्ट पार्नु भयो । उहाँले एमाले माओवादी लगायतका कम्युनिष्ट पार्टीहरुका संगठनहरु वास्तविक कम्युनिष्ट पार्टीका संगठनहरु हुन नसकेको जिकिर गर्दै ती केवल चुनाव प्रचार प्रसार समिति जस्तो बनेको ठोकुवा गर्नु भयो ।
उहाँले जनयुद्धले उत्पीडनका आवाजहरु माथि ल्याएको र गणतन्त्रलाई नाराबाट सडकमा ल्याएको स्वीकार गर्नु भयो । उहाँले जनताको वहुदलिय जनवादको बाटोबाट एमाले अगाडि बढन नसकेको टिप्पणी गर्नु भयो ।