भदौ ६, कालिकोट । कालिकोटमा (शुक्रबार) रातिदेखि लागू हुने गरी ५ दिने निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड(१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनु भयो । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार पछिल्लो समय कालीकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट कालीकोट जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ ।
कर्णालीका दश जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रगरसहित जुम्ला, हुम्ला, दैलेख र मुगुमा पनि निषेधाज्ञा जारी छ । जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस