राष्ट्रसंघलाई सुदृढ र शशक्त वनाउनुपर्छ ः प्रधानमन्त्री ओली

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्ने बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनु भएको हो ।
एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्यमान्यता प्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनु भयो । व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्री ओलीले भन्नु भयो ‘सामयिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ निकाय बनाउनुपर्छ ।’
वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १८२ वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस