डा. केसी शिक्षण अस्पताल जान पाउनु भएन, ट्रमा सेन्टर लगियो

६ असोज, काठमाडौं । अनशनकै क्रममा सोमबार काठमाडौं पुग्नु भएका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
नेपालगञ्जबाट ११ ः १५ बजेको फ्लाइटमा काठमाडौं पुग्नु भएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर तर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ ।
केसीका सहयोगी प्रितम सुवेदीले केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताउनु भयो । केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको छ । आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गर्नु भएका केसीले गत वर्ष अवकाश लिनु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गर्नु भएको थियो ।
जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी काठमाडौं जानु भएको हो ।

प्रतिक्रिया दिनुहोस