६ असोज,बन्दीपुर (तनहुँ) । वैज्ञानिक समाजवादको पक्षमा व्यापक जनमत सृष्टि गर्ने निर्णय गर्दै नेकपाको एघारौं केन्द्रीय समितिको वैठक मंगलवार राती सकिएको छ ।
नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको निश्कर्ष निकाल्दै नेकपाले अव वैज्ञानिक समाजवादको अग्रगामी व्यवस्थामा जानुको विकल्प नभएको ठहर गरेको हो ।
नेकपाले वैज्ञानिक समाजवादमा पुग्न जनमतसंग्रह गर्नु पर्ने र त्यसका लागि व्यापक जनमत सृष्टि गर्नुपर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिको बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने’ राजनीतिक निर्णय गरेको छ ।
यस्तै सर्वाधिक चर्चा र विवादमा रहेको राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै नेपालबाट एमसीसी खारेज नहुँदासम्म एमसीसीविरोधी सँगको सहकार्यलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
वैठकले आगामी फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने पनि निर्णय गरेको छ । २ वर्ष लामो सरकारी प्रतिबन्ध कारण पूर्ण केन्द्रीय समितिको वैठक वस्न सकेको थिएन ।
प्रतिवन्ध फिर्ता पछि २ जना केन्द्रीय सदस्य बाहेक सबैको उपस्थितिमा सम्पन्न पहिलोे वैठकले राजनीतिक, वैचारिक र विचारधारात्मक रूपले पनि व्यापक बहस र छलफल गरेको छ ।
नेकपाको बैठकले आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय संगै मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा विशाल जनसभा तथा जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला÷सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।
राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ । सरकारद्वारा पार्टीमाथि प्रतिबन्ध लगाइएपछि भत्किएका साङ्गठनिक संरचनाहरूलाई पुनर्संरचित गर्न देशव्यापी सङ्गठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा पार्टी कार्यदिशाको व्याख्या गर्दै पार्टी महासचिव विप्लवले तेस्रो अन्तर्राष्ट्रिय, नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनका सन्दर्भमा नयाँ संश्लेषण गर्नका लागि आफ्नो पार्टी लागिपरेको बताउनु भएको छ । उहाँले नेपाली जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएको भन्दै उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्नुपर्ने पनि बताउनु भएको छ ।
१० बर्से नेपाली जनयुद्धले बाँकी छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै विप्लवले पार्टी नेताहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान वैठकमा विशेष निर्देशन दिनु भएको छ ।
बैठकले पार्टी महासचिव विप्लवले पेस गरेको राजनीतिक दस्ताबेज व्यापक छलफल र आवश्यक परिमार्जन सहित पारित गरेको छ । बैठकमा सबै केन्द्रीय सदस्यले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ संगै धारणा राखेका थिए ।