६ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टी कैलालीले जमिनदारको जग्गा पुनःकब्जा गरेको छ । जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो ।
जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर सुकुम्बासी बस्ति बसाएको थियो । सरकारसँग विस्तृत शान्तिसम्झौता गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि कब्जामा लिएका जग्गा जमिन लगायत सम्पत्ति फिर्ता गर्ने प्रचण्डले सहमति गरेपछि फिर्ता भएको थियो । तर जग्गाको समुचित वितरण गर्ने वैज्ञानिक भूमिसुधार लागु गर्ने सहमति भएपनि त्यो भने लागु हुन सकेन ।
रणबहादुर शाहको स्वामित्वमा रहेको उक्त जमिन खरिदविक्रिको लागि थुप्रै चलखेल भएपछि बस्ति उठ्न नमानेको थिएन ।
तर केही वर्ष पहिले पोखराको शौभाग्य रियलस्टेट एण्ड हाउजिङ्ग प्रा.लि. ले खरिद गरेको थियो ।
उक्त कम्पनीले जग्गा खालि गराउन पुर्व माओवादी नेता कालीबहादुर खाममार्फत नेकपा नेतासंग पहल समेत गरेको थियो ।
पार्टीका केही नेता सहमत समेत भइसकेको अवस्थामा पार्टीमा व्यापक विरोध भएपछि जमिनको कुरा पार्टीको आठौ महाधिवेशनमा जोडतोडले उठेपछि महासचिव विप्लवले सुकम्बासीलाई उठीबास गराउने कुरामा आफ्नो पार्टी सहमत हुन नसक्ने बताउँदै नेताकार्यकर्तालाई जग्गा प्रकरणमा संलग्न नहुन निर्देशन समेत दिनु भएको थियो ।
पार्टीसँग सहमति हुन नसकेपछि बस्ति हटाउन केहीलाई पैसा दिएर र केहीलाई प्रहरी लगाएर बल प्रयोग गरि हटाइएको थियो ।
प्रतिबन्धमा रहेको नेकपाले जबर्जस्ति खालि गराए प्रतिरोध गर्ने भन्दै विरोध जनाएको थियो । जग्गादलाल र भुमाफियामाथि कारवाही गर्ने योजना कार्यान्वयन गर्ने क्रममा धनगढी सहिदगेट नजिक बम विस्फोट भई आन्तरिक दुर्घटना भएको तत्कालीन नेकपा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनले पत्रकारहरूसँग वताउनु भयो ।
लामो समयदेखि नेकपाको कब्जामा रहेको उक्त जमिन मङ्गलबार नेकपाको टोलीले पुनकब्जा गर्दै जमिन आफ्नो पार्टीको कब्जामा रहेको र विक्रिवितरण नगर्न ,पार्टीको सहमतिबिना उपभोग गर्न रोक लगाएको सुचनासहितको व्यानर टाँगेको छ ।
आफ्नो पार्टीको नियन्त्रणमा रहेको जमिन जबर्जस्ति सुकुम्बासीको उठीबास गराइएको र हाल विभिन्न व्यक्तिहरूले अनधिकृत रूपमा चलखेल गर्न खोजिरहेको सुचना आएपछि पुन नियन्त्रणमा लिएर चलखेल नगर्न सुचित गरिएको नेकपा कैलाली सेक्रेटरी दिपेन्द्र चलाउनेले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस