ओली र देउवाको गोप्य भेटवार्ता, सत्ता साझेदारीको प्रस्ताव


७ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विच बालुवाटारमा गोप्य भेटघाट भएको छ । गोप्य रुपमा गरिएको भनिएको भेटघाटमा ओलीले देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतले बताएको छ ।
पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेर फुटको संघारमा पुगेकै वेला प्रधानमन्त्री ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गर्नु भएको हो ।
संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेको बताइएको छ ।
करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन् । आफूनिकट केन्द्रीय सदस्यहरूलाई लिएर बालुवाटार पुग्नु भएका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गर्नुृ भएको थियो ।
भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत सहभागी थिए ।
कांग्रेस स्रोतका अनुसार सभापति देउवाले अख्तियार र निर्वाचन आयोगमा कांग्रेसलाई भाग दिनुपर्ने अडान राख्नु भएको छ । भागबन्डाका विषयमा सहमति गर्न नेकपाका नेता सुवास नेम्वाङ र कांग्रेस नेता रमेश लेखकलाई जिम्मेवारी दिइएको छ ।
यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री ओलीले १७ असारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्नु भएको थियो ।
यसैबीच, हिमाल साप्ताहिकका सम्पादक किरण खरेलले ट्वीट गर्दै आगामी चुनाव कांग्रेसका नेता शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा हुने गरी राजनीतिक घटनाक्रम अगाडि बढेको उल्लेख गर्नु भएको छ । जसले गर्दा ओली र देउवाको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस