कर्णालीमा स्याउ खेतीलाई व्यावसायिक बनाउन तीन दिने तालिम

१० माघ, जुम्ला । परम्परागत कृषि प्रणालीलाई व्यावसायिक बनाउन स्याउ बगैँचा व्यवस्थापनको लागि तीन दिने कृषि अधिकृत र सहायक स्तरीय तालिम सम्पन्न भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्ला, परियोजना समन्वय  इकाई सुर्खेत र परियोजना व्यवस्थापन  इकाई खुमलटारकाे आयाेजनामा मंगलबारदेखि देखि सुरू भएको तालिम बिहीबार सम्पन्न भएको हाे । तालिममा कर्णाली प्रदेश ६ जिल्ला र सुदूरपश्चिमका दुई गरि ८ जिल्लाका ३३ जना कृषि अधिकृत र प्राविधिकहरूको सहभागिता रहेको थियो ।

तालिमले स्याउ उत्पादन वृद्धिदेखि रोग कीरा व्यवस्थापनका विषयमा व्यापक जानकारी आदानप्रदान सँगै स्याउ खेतीमा आधुनिक प्रविधिकाे प्रयाेग र किसानहरूलाई व्यावसायिक बनाउनमा सहयोग पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्लाका प्रमुख खेमराज शाहीले बताउनु भयाे ।

तालिमकाे समापन कार्यक्रममा बाेल्दै कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डा. नवराज आर्चायले कर्णालीलाई अर्गानिक स्याउ उत्पादनको प्रमुख क्षेत्र बनाउन गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरले मात्रै कर्णालीकाे स्याउलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ। तालिममा सिकाइएका कुरा व्यवहारमा लागू गरे यहाँ स्याउ खेतीले नयाँ गति लिनेमा आशा व्यक्त गर्नुभयो ।

तालिममा जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, अछाम, दार्चुला र सुर्खेतबाट सहभागी प्राविधिकहरूले आफूले सिकेकाे नयाँ ज्ञान र सीप कृषकलाई सिकाउने र व्यवहारिक प्रयोग गर्दै गाउँगाउँमा स्याउ खेतीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कृषि विकास कार्यालय डोल्पाका कृषि अधिकृत महेन्द्र मल्लले स्याउ खेतीको विस्तार भए पनि ज्ञान र सीपको अभावले उत्पादनमा कमी आएको र व्यवसायिक खेती गर्दा धेरै कुरा सिक्न जरुरी भएको भन्दै याे तालिममा मल व्यवस्थापन, सिंचाइ, बिरुवा काटछाँट, र रोग कीरा नियन्त्रणका विधिहरू र अन्य धेरै कुरा सिक्न पाएकाे र यसलाई किसानहरूसम्म पुर्याउने प्रतिबद्धता गर्नुभयो ।

तालिमको समापनमा बाेल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन  इकाई खुमलटारका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले कर्णाली स्याउ खेतीको उर्वर सम्भावना भएको तर बगैँचा व्यवस्थापन र रोग कीरा नियन्त्रणकाे समस्याले यहाँका कृषकले उचित लाभ लिन नसकेको बताउनुभयो ।

उहाँले कर्णालीको स्याउलाई राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्न उत्पादनको गुणस्तर र ग्रेडिङलाई अनिवार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्याउ खेतीको विस्तारसँगै बजारीकरणमा समेत ध्यान दिँदै सरकारको नीतिगत पहलकाे पनि आवश्यक रहेको उहाँकाे भनाइ थियो ।

उहाँले पहिलो पटक जुम्लामा आयोजित कृषि अधिकृत तथा सहायक स्तरीय स्याउ बगैँचा व्यवस्थापन तालिमले यहाँको स्याउ खेतीलाई थप आधुनिक, व्यवस्थित र व्यावसायिक बनाउनेमा टेवा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस