श्री ५ बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ ः नेपाल

८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिनु भएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भन्नु भयो ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

‘महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उहाँले भन्नु भयो ।
आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने नेता नेपालले बताउनु भयो ् । उहाँले अघि भन्नु भयो ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’

ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उहाले बताउनु भयो । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाउनु भयो ।

एमाले वरिष्ठ नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको पनि बताउनु भयो ् ।
अध्यक्ष ओलीतर्फ संकेत गर्दै उहाले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत पुग्न नदिने र ‘संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ’ भन्ने खोजेको उहाले बताउनु भयो । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै नेता नेपालले भन्नु भयो , ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं, स्वतन्त्र न्यायपालिकाको सम्मान गरेका छौं, जायज काम गरेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टीमा अहिले देखिएको अन्तरविरोध पदका लागि नभएको बताउनु भयो ।

तर अध्यक्ष ओलीले त्यसलाई व्यवस्थित गर्न नसकेको भन्दै उहाले भन्नु भयो , पार्टीको अन्तरविरोधको मूल कारण के हो खोजी गर्नुस् । यो पद, प्रतिष्ठा र इगोको लडाइँ होइन, वैचारिक मान्यता र यहाँ देखा परेका वैचारिक विचलनसँग जोडिएका अन्तरविरोध हो । पार्टीभित्र देखा परेका अनेक विकृति, विसंगति, नीति, विचार र विधि र आचरणसँग जोडिएको विषयको अन्तरविरोध हो ।’

प्रतिक्रिया दिनुहोस