प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौंः वैद्य

८ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुपर्नेमा जोड दिनु भएको छ ।

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनु भएको हो ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उहाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिनु भयो ।

सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने भन्दै उहाले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने बताउनु भयो ।

केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भनेर प्रश्न समेत गर्नु भएको थियो ।

‘ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो । पानीजहाज र रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ । यस्तै बुद्धिले रेल आउँछ र ?” अध्यक्ष वैद्यले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस