सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ ः महासचिव विप्लव

७ असोज, पोखरा । नेकपाका महासचिव विप्लवले यो सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गर्नुृ भएको छ ।

पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको वुधवार उद्घाटनपछि रातो पोसाक लगाएका क्रान्तिकारी विद्यार्थी, युवा र जनसमुदायलाई सम्बोधन गर्दै यस्तो उद्घोष गर्नु भएको हो ।

महासचिव विप्लवले सरकार तर्फ लक्षित गर्दै भन्नु भयो , ‘तपाईंहरूले सहमति लागू गर्नुभएन भने र अन्य कुनै सर्त थोपर्नतिर लाग्नुभयो भने जनतालाई साथमा लिएर यो घेरा तोड्नेछौँ ।

देउवा सरकारले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गरेर सेना र प्रहरीलाई सुरक्षाको जिम्मा दिन लागेको प्रति सङ्केत गर्दै महासचिव विप्लवले राष्ट्रको सुरक्षाको जिम्मा लिएको सेना र प्रहरीले राष्ट्रघाती शासकहरूलाई साथ दिन नसक्ने र उनीहरूलाई पक्राउ गरेर देशभक्तहरूलाई जिम्मा लगाउनुपर्ने पनि प्रस्ट पार्नुृ भयो ।

उहाँले भन्नु भयो , ‘सेनाले सधैँ गल्ती गर्दै र राष्ट्रघात गर्दै देश र जनतालाई कङ्गाल बनाउने शासकलाई साथ दिन्छ भन्ने छैन । त्यस्तै प्रहरीले पनि भ्रष्टाचारी र अपराधी शासकहरूलाई सुरक्षा दिइरहन्छ भन्ने छैन । देशका प्रशासकहरूलाई पनि यो सत्ताले देश र जनताको रक्षा र विकास गर्छ भन्ने विश्वास छैन । सेना र प्रहरी राखेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पारित नगर । देश नबेच दलाल पुँजीवादी संसदीय व्यवस्था चौतर्फी असफल भएको र देश चलाउन नसक्ने अवस्थामा पुगेका कयौँ उदाहरण प्रस्तुत गर्दै महासचिव विप्लवले ‘आफू पनि सत्ता चलाउन नसक्ने, देशलाई असफल बनाउने, चलाउन सक्नेहरूलाई पनि नदिने गरेको वताउनु भयो ।

उहाँले जनमतसङ्ग्रहबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनेमा आफु विश्वस्त भएको वताउनु भयो ।
आफ्नो पार्टीसँग बन्दुकभन्दा शक्तिशाली जनता, श्रमिक वर्ग, सहिद तथा बेपत्ता योद्धा परिवारहरू भएकाले कुनै पनि हालतमा बन्दुकदेखि नडराउने, नझुक्ने, बरु सहिद बन्न तयार हुने तर देश र जनतालाई यो बर्बर र आततायी व्यवस्थाको चङ्गुबाट मुक्त पारेरै छोड्ने उद्घोष महासचिव विप्लवले गर्नु भयो ।

कम्युनिस्टहरू नै सबैभन्दा बढी शान्तिप्रिय हुन्छन् । बन्दुक हातमा लिएका सत्ताधारीहरूले कहीँ पनि जितेका छैनन् उहाँको भनाई छ ।
राज्यको सम्पत्ति लुटेर खाने, दलाली गर्ने, युवा, मिहला, विद्यार्थीलाई बेचेर कमिसन तथा रेमिट्यान्समा बाँच्ने र देशमाथि घात गर्ने सत्ता जनताको हुन नसक्ने उद्घोष गर्दै महासचिव विप्लवले अब युवा, विद्यार्थी भ्रष्टाचारी, राष्ट्रघातीहरूको सूची बनाउँदै र किसान, मजदुर, महिला, सुकुमबासीको सुन्दर भविष्यको रेखा कोर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि आन्दोलित भइरहन विद्यार्थीलाई आह्वान गर्नुृ भयो ।

सम्मेलन उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्द, बेपत्ता विद्यार्थी नेता पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल छैटौंका उपाध्यक्ष गणेश अधिकारी, अखिल क्रान्तिकारीका संयोजक सुन्दर रायमाझी, समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, अखिल नेपाल विद्यार्थी युनियनका मनीष भट्टराई, नेविसङ्घका महामन्त्री युवराज पाण्डे, बेपत्ता योद्धा विपीन भण्डारीका बुबा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनकी अध्यक्ष राजेश्वरी सुवेदीलगायतले सम्मेलन सफलताको शुभकामना दिँदै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको आन्दोलनमा एक साथ रहेको धारणा राखेका थिए ।

२२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालको अध्यक्षता, उपाध्यक्ष रुद्र भट्टराईको स्वागत र महासचिव प्रकाश शाहीको सञ्चालनमा सम्पन्न सम्मेलन उद्घाटन समारोहमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सांस्कृतिक परिवार सामना परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालयका सदस्यहरू कञ्चन, सुदर्शन, विषम, केन्द्रीय सदस्यहरू उमा भुजेल, ओमप्रकाश पुन, चिरन पुन, पूर्णबहादुर सिंह, देवनारायण शाह, प्रेम दर्नाल, अधिवक्ता कपिलचन्द्र पोखरेल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदी, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, विभिन्न जवस, मोर्चाका अध्यक्ष, संयोजक र प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए ।

देशका ९० भन्दा बढी भूगोल र क्याम्पस–विश्वविद्यालय जिल्लाबाट ५५५ जना प्रतिनिधि–पर्यवेक्षक सहभागी रहेको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले वैज्ञानिक शिक्षासम्बन्धी नीति, कार्यक्रमका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस