विजयको भाव बोकेर जनतामा जानुहोस् ः विप्लव

अखिल (क्रान्तिकारी)को वन्द सत्र जारी

७ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द्र (विप्लव)ले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान र जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वान गर्नु भएको छ ।

पोखरामा जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा लाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी हारेर नभई जितेर वार्ता र सहमतिमा आएको पनि प्रस्ट पार्नु भयो ।

क्रान्तिकारीहरूलई दुई महिनामै सिध्याइ दिन्छौँ भन्ने दलाल पुँजीवादी शासकहरू क्रान्तिको चाप र जनताको तिरस्कारका कारण आफू आफूमै लडेर सकिन थालेपछि र चरम सङ्कटको भूमरीमा परेपछि नेकपासँग वार्ता गर्न बाध्य भएको वताउनु भयो ।

महासचिव विप्लवले केही महिनाअघिसम्म आकाशका ताराहरू हेरेर रात कटाइरहेका कमरेडहरू आज जनतामा सन्देश लग्न यसरी भेला हुने अवस्था बन्नु क्रान्तिकारीको विजयको सङ्केत रहेको धारणा पनि राख्नु भयो ।

सत्ता पक्ष वार्ता र सहमतिप्रति इमानदार नभए के गर्ने भन्ने विषय जनतामा प्रस्ट रहेको पनि विप्लवले बताउनु भयो ।

अब किसान, मजदुर, बुद्धिजीवी, महिला, उपेक्षित, उत्पीडित सबै जनसमुदाय यो दलाल पुँजीवादी राज्यसत्ता र त्यसका संरक्षक संसद्वादीहरूबाट वाक्कदिक्क भइसकेकाले जीवनभर श्रमिकहरूलाई दास बनाउने र आफूहरू मस्ती गरिरहने जाल, झेल र शोषणमा टिकेको दलाल पुँजीवादी सत्तालाई जनमतबाटै मिल्काइ दिन सकिने महासचिव विप्लवको संश्लेषण थियो ।

एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनताको घरघर, हृदयसम्म पुर्याएर जीवनव्यवहारमा रूपान्तरण गराउन युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको पनि महासचिव विप्लवले बताउनु भयो । बन्द सत्रमा पार्टी प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्यहरू कञ्चन, विषम, केन्द्रीय सदस्यहरू शिलु, मिलन, बन्धु चन्द, आस्था लगायतका नेताहरु सहभागी छन् ।

लेकसाइडस्थित कुटी होटेलमा ७ गते बिहीबार सुरु भएको बन्दसत्रमा राष्ट्रिय सम्मेलन आयोजक समिति विघटन गरी अध्यक्षमण्डल गठन गरिएको छ ।
आयोजक समितिका संयोजक रहेका चिरञ्जीवी ढकालले छलफलका लागि साङ्गठनिक प्रतिवेदन र महासचिव रहेका प्रकाश शाहीले संशोधित विधान प्रस्तुत गर्नु भएको छ । साङ्गठनिक प्रतिवेदन र विधानमाथि छलफल गर्न १८ वटा समूह निर्माण गरिएको छ ।

भोलि बिहान ८ बजे पुनः बन्द सत्र सुरु हुने र रिपोर्टिङ तथा प्रतिवेदनहरूमाथिको छलफल आरम्भ गरिने जानकारी अध्यक्षमण्डलका सदस्य मिलन राईल दिनु भएको छ ।
सम्मेलनमा भूगोलका ७७ जिल्लाका साथै मेडिकल, कृषि, आईटी, पूर्वाञ्चल विरश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सीटीईभीटी, इन्जिनियरिङसहित ८५ भन्दा बढी जिल्लाका छानिएका ५५५ प्रतिनिधि÷पर्यवेक्षक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस