मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव बहुमतद्वारा अस्वीकृत


कार्तिक ७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत जाहेर गरेका थिए।
असोज २५ गते सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। ‘संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्ताव महुमतद्वारा अस्वीकृत भएको छ,’ प्रमुख सचेतक सीता नेपालीले, ‘बैठकमा उपस्थित १८ जना माननीय सांसदहरुले दलका नेता शाहीको पक्षमा मत जाहेर गरेको वताउनु भयो ।’
नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन् । ति मध्ये पूर्व माओवादी केन्द्रका १० जना र पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका आठ जना सांसद बैठकमा उपस्थित थिए । सुर्खेतमै रहेर पनि कँडेल समूहबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा भने दलको बैठकमा उपस्थित हुनु भएन ।
यस्तै अविश्वासको प्रस्ताव दर्ता गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका यामलाल कँडेल, मीनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, कौशिलावती खत्री, राजु नेपाली, खड्कबहादुर खत्री र बद्मी क्वारी बोहोरा उपस्थित हुनु भएन । यस्तै प्रचण्ड समूहका ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी र पुष्पा घर्ती (विष्ट) (उपसभामुख) पनि बैठकमा उपस्थित हुनु भएन ।

 

प्रतिक्रिया दिनुहोस