सक्दिनँ भन्ने संक्रमितहरुको उपचार निःशुल्कः प्रधानमन्त्री


७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफै उपचार गर्न सक्दिन भन्ने हरेक कोरोना संक्रमित नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गर्नु भएको छ ।
दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उहाँले कोभिड–१९ को कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताउनु भयो । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने प्रधानमन्त्री ओलीले वताउनु भयो ।
उहाँले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन सबैमा आग्रह गर्नु भयो ।
अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको भन्दै उहाँले महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको वताउनु भयो ।
जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै उहाँले भन्नु भयो ‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।’
पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नु हल्ला मात्र भएको भन्दै। सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरेको वताउनु भयो ।
प्रधानमन्त्री ओलीले यसो भनिरहदा केही सरकारी तथा नीजि अस्पतालहरुले अगाडी डिपोजिट विना संक्रमितको उपचार नगरेको समाचारहरु सार्वजनिक भइरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस