१० जेष्ठ, कालिकोट । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भृकुटी सीले दलाल संसदीय व्यवस्थाबाट महिला र श्रमिक समुदायको मुक्ति सम्भव नहुने बताउनु भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी र श्रमिक समुदाय मोर्चा नेपालको सहिद स्मृति गाउँ कमिटीको संयुक्त भेलालाई शुक्रबार सम्बोधन गर्दै उहाँले दलाल संसदीय व्यवस्थाबाट महिला र श्रमिक समुदायको मुक्ति सम्भव नहुने बताउनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएकी उपाध्यक्ष भृकुटीले दलाल व्यवस्था भनेको भ्रष्ट, कमिशन खोर ,लुटेरा र घुसखोरी जन्माउने व्यवस्था भएको भन्दै यसले नेपाल र नेपाली जनतालाई दुखमात्र दिने गरेको ठोकुवा गर्नु भयो ।
उहाँले नेपाली श्रमजीवी वर्ग, महिला र श्रमिक समुदायको व्यवस्था भनेको नेपाली विशेषताको समाजवाद वा बैज्ञानिक समाजवादी व्यवस्था मात्र भएको दाबी गर्नु भयो ।
अनेमसंघ क्रान्तिकारीका उपाध्यक्ष भृकुटीले भन्नु भयो, दलाल व्यवस्था असफल भयो । यसको ठाउँमा समाजवादी व्यवस्था अनिवार्य भयो । बैज्ञानिक समाजवादमा सबैको क्षमता अनुसारको काम, माम र दाम हुन्छ । कसैको कसैमाथि विभेद हुदैन । महिला र श्रमिक समुदायमाथि पनि विभेद हुदैन । हामीलाई त्यो व्यवस्था चाहिन्छ ।
‘जनताको गाँस, बास, कपास, स्वास्थ, शिक्षा, रोजगार यातायात, संचार र मनोरञ्जन राज्यको दाहित्व हुन्छ’ उपाध्यक्ष भृकुटीले भन्नु भयो, ‘बैज्ञानिक समाजवादमा भोको पेटले खान पाउछ । नाङ्गो शरिरले लगाउन पाउछ । पढ्ने नपाएकोले आफ्नो क्षमता अनुसार समानरूपमा पढ्न पाउछ । उपचार नपाएकाले उपचार पाउछ । भुमिहिनले जमिन पाउछ । यस्तो व्यवस्था हो बैज्ञानिक समाजवाद ! जहाँ सबैको मुक्ति हुन्छ,त्यसैले यसका पक्षमा संघर्ष गर्न जरुरी छ ।’
उहाँले अहिले प्रतिक्रान्तिकारीका कारण गाउँगाउँमा विकृति मौलाएको भन्दै जनयुद्धमा जाँड खानुहदैन भन्दै जाँडका घैटा फोड्नेहरू अहिले जाँडका भट्टी र जुवाको खालमा भेटिने गरेको टिप्पणी गर्नु भयो ।
उहाँले अहिले समाजिक साँस्कृतिक विकृति सबैभन्दा बढी माओवादी केन्द्र भित्रका केही मान्छेहरु भित्र देखिएको आरोप लगाउनुभयो ।
उहाँले नेपाली विशेषताको समाजवादले सबै विकृतिहरुको अन्त्य गर्ने ठोकुवा गर्दै समाजवाद ल्याउने अभियानमा सबै पार्टीमा भएका इमानदार बामपंथी, लोकतन्त्रवादी, देशभक्त शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष भृकुटीले समाजवादको लागि समाजवादी मोर्चा गठन भएको भन्दै देशमा बढ्दो दलाली, भ्रष्टाचार, कमिसन, लुटतन्त्र र घुषतन्त्र अन्त्य गर्न समाजवादी मोर्चा पनि लाग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय कोषाध्यक्ष योजना सी, केन्द्रीय प्रतिनिधि सदस्य अखडा सी, पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन सी, पार्टी जिल्ला कमिटी सल्लाहकार सदस्य निर्मल सी, गाउँ कमिटी सेक्रेटरी अरिकल सी, अनेमसंघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष प्रतिमा सी लगायतका अतिथिहरूले भेला सफलताको शुभकामना दिएका थिए ।
संयुक्त भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारी र श्रमिक समुदाय मोर्चा नेपालको छुट्टा छुट्टै दुई वटा गाउँ कमिटी समेत निर्वाचित गरेको छ ।