निजी बाईक चढेर जनतासंग घरदैलो गरिरहेका चौकुने गाउँपालिकाका अध्यक्ष विक

सुर्खेत । सायद आफ्नो निजी बाईक चढेर जनताको सेवामा घरदैलो गर्ने गाउँपालिका अध्यक्ष कमै होलान । तर सुर्खेत चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) भने कमै भित्र पर्ने पात्र हुन ।

सरकारले दिएको सुविधा नलिए पनि हुन्छ भन्ने भावना कमैको होला । बरु सरकारले दिएको सुविधा भन्दा माथि गएर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरु धेरै छन ।

गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखहरुका लागि सरकारी सुविधाका रुपमा सरकारले एउटा गाडी दिने व्यवस्था गरेको छ ।
जसका लागि प्रति महिना ७० लिटर तेल पाउने सुविधा पनि उपलव्ध छ । तर धेरैजसो गाउँपालिका तथा नगरपालिका प्रमुखहरुले सरकारी गाडीको सीमा नाघेर प्रयोग गरेका छन ।

उस्तै परे सरकारी गाडीलाई विदाको दिनमा चलाउने देखि आफ्नो निजी काममा समेत प्रयोग गर्ने गरेका छन ।
उनीहरुले सरकारी सवारी साधनको दुरुपयोग मात्रै होइन महिनौपिछे लाखौं रुपैयाको तेलको विलहरु भुक्तानी गर्ने गरिएको समाचारहरु सार्वजनिक हुने गरका छन ।

तर यी सबै कुराहरुलाई बेवास्ता गर्दै सुर्खेत चौकुने गाउँपालिका अध्यक्ष खड्क विक (विवश)ले भने आफ्नो निजी वाईक प्रयोग गरेर जनताको सेवामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँलाई गाँउपालिका अध्यक्ष भएको कुनै दम्भ र घमण्ड छैन । जनतासंग सहज र सरल स्वभावका रुपमा प्रस्तुत भईरहनु भएको छ । जनताले उहाँलाई भेटेर समस्या राख्न पनि कुनै गार्हो छैन । किनकी उहाँ आफै प्रत्येक जनताको घरदैलोमा निजी वाईक चढेर पुगिरहनु भएको छ ।

गाउँपालिका अध्यक्ष विजय पछि उहाँ जनतासंगै सामुहिक श्रम गर्ने काममा पनि जोडिरहनु भएको छ । उत्पादनलाई मुख्य बनाउनु पर्ने सोच बनाएर जनतासंगै श्रम गर्नेकाममा भाग लिइरहेको पालिका अध्यक्ष विकले बताउनु भएको छ ।

अध्यक्ष विक अहिले जनताको घर –घरमा पुगेर समस्याहरु बुझने काममा व्यस्त हुनुहन्छ । अध्यक्ष विकले आर्थिक बर्ष ०८१÷८२ को लागि योजनाहरुको सुझाव संकलन गर्दा आफै जनताको घरदैलोमा पुग्नु भएको गाउँपालिका श्रोतले बताएको छ ।

जनताको नजरमा इमान्दार जनप्रतिनिधिको रुपमा स्थापित हुदै गएका अध्यक्ष विकले गाउँपालिकालाई भ्रष्टाचारमुक्त गर्न आफूले निजी वाईक चढेको बताउनु भएको छ ।

उहाँले गाउँपालिकाको सरकारी गाडीलाई जनताको सेवा प्रवाहको काममा लगाउनु भएको छ । अध्यक्ष विक दिनहु जसो जनताको टोल –टोल र घर –घरमा पुगेर समस्याहरु बुझने र समाधानका लागि पहल गर्ने गरिरहनु भएको छ । यसले गर्दा गाउँपालिकावासीहरु स्थानीय सरकारबाट आसावादी भएका छन ।

प्रतिक्रिया दिनुहोस