शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमा चौकुने गाँउपालिको प्राथमिकता

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता दिएको छ ।

सोमबार देखि सुरु भएको गाउँसभाको सोह्रौ अधिवेशनमा पेश गरिएको बार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासका योजनामा प्राथमिकता दिएको हो ।

‘दिगो र तिव्र विकास चौकुनेको रहर, गुणस्तरीय शिक्षा र ब्यावसायिक कृषिमा लहर’ भन्ने नारा सहित गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासका कामलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले कृषि, पर्यटन, उद्योग, व्यापारमा लगानीको वातावरण निर्माण गर्ने गरी नीति तथा कार्यक्रम बनेको स्पष्ट पार्नुभयाे ।
पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले रोजगारमूलक योजना तथा कार्यक्रम कार्यान्वयन गरी गाँउपालिकामा नै रोजगारीका थप अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता गर्नुभयो ।

गाउँपालकिाले सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउने, सुशासनको प्रत्याभूति गराइने, कर, गैरकर तथा राजश्वका स्रोतको पहिचान तथा संकलन गर्ने, ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरूको पहिचान गरी संरक्षण र सम्बद्धनमा जोड दिने, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।

यस्तै सामाजिक, भौतिक र आर्थिक विकासका लागि क्षेत्रगत गुरूयोजना निमार्ण गर्ने,संघ संस्थाबाट हुने कार्यक्रमहरुमा प्राथमिकता दिने, भौगोलीक विकटतालाई ध्यान दिदै विकासका कामहरु वडा सम्म जोड दिने लगायतका नीति तथा कार्यक्रमहरु रहेका छन । पालिकाले खानेपानी,सडक निमार्णका चालु कार्यक्रमलाई पनि जोड दिने नीति तथा कार्यक्रमका ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस