शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

१० असार, काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले विहिवार प्रदर्शन गरेका छन् ।

‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।
संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनका सहभागीहरुले सेतो कपडामा हस्ताक्षर गर्दै अभियान प्रति एक्यवद्धता जनाएका थिए ।

दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिनु भएको थियोे ।

रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ पर्नु भएको थियो । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना सुरु भएको छ ।

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला पनि दहन गरेका छन् ।
प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।

प्रतिक्रिया दिनुहोस