बेथिति रोक्न माग गर्दै नेकपा कालिकोटले बुझायो ९ वटै स्थानीय तहलाई ज्ञापनपत्र

९ असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै ९ वटै स्थानीय तहलाई खवरदारी गरेको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न १८ बुँदे माग राख्दै स्थानीय तहमा हुने गरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न नेकपाले नगरपालिका र गाउँपालिकाका प्रमुख उप-प्रमुखलाई भेटि ज्ञापनपत्र बुझाउदै खवरदारी गरेको हो ।

नेकपाले स्थानीय सरकारका जनप्रतिनिधिहरुले जनताको रकम काम नगरेर विल मिलाई खाने,योजनाको कमिशन माग्ने,कार्यकर्ता पोस्ने, नीतिगत देखि योजनागत भ्रष्टाचार गर्ने लगायतका बेथितिहरु प्रयाप्त देखिको जनगुनासाहरु आएको भन्दै जनताको करवाट उठेको पैसाको उचित प्रयोजन नगरे त्यस्ता भ्रष्टहरुमाथि नेकपा जनकार्वाही गर्न वाध्य हुने चेतावनी दिएको छ ।

नेकपाले स्थानीय सरकारलाई पेश गरेको आफ्नो १८ बुँदे ज्ञापनपत्रमा उपभोक्ता समिति वनाउदा सेटिङ्ग मिलाउने गरेको, वास्तविक पीडित जनताले राहत नपाउने गरेको, कर्मचारी नियुक्तिमा नातवाद र कृपावाद तथा घुसपैठ गर्ने गरेको, श्रम ऐन अनुसार अस्थायी कर्मचारीहरुलाई पारिश्रमिक नदिएको जस्ता कार्यहरु भईरहको तर्फ सचेत गराउदै यस्ता कार्य रोक्न माग गरेको छ ।

यस्तै नेकपाले स्थानीय तहले लघुवित्तको व्याजदर १ अंकमा कायम गरिनुपर्ने, यातायात व्यवसायीको मनपरी भादादर रोकिनुपर्ने, यातायात दुर्घटना रोक्नका लागि बाटोको स्तर बृद्धि गर्नु पर्ने, नाफामूलक भन्दा सेवा मुलक काममा यातायात सेवा प्रयोग हुनुपर्ने,कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने, एनजीओ आइएनजिको राजनीतिकरण बन्द गरिनुपर्ने, जातीय भेदभाव गर्ने माथि कडा कार्वाही गरिनुपर्ने, समान र गुणस्तरीय शिक्षा लागु गरिनु पर्ने, जनताको विमा गर्ने वातावरण मिलाउनु पर्ने, एम्वुलेन्स सेवा सहुलियत हुनुपर्ने, जाँड रक्सी जुवातास बन्द गरिनुपर्ने लगायतका मागहरु राखेको छ ।

असार १ गते देखि रास्काेट नगरपालिका बाट ज्ञापनपत्र बुझाउन शुरू गरेको नेकपाले शुक्रबार खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बुझाएको थियोे ।

प्रतिक्रिया दिनुहोस