दलाल र भुमण्डलीकृत पूँजीवादले भ्रष्टाचारको जन्म गरायो,समाजवाद चाहिन्छ ः विप्लव सी

८ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव सी ले दलाल र भुमण्डलीकृत पूँजीवादका कारण भ्रष्टाचारको जन्म भएको वताउनु भएको छ ।

सोमबार काठमाडौंमा ४५ औ पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै महासचिव ‘विप्लव सीले यस्तो कुरा बताउनु भएको हो । उहाँले पूँजीवाद नै भ्रष्टाचारको मुख्य जरो भएको वताउदै पूँजीवादलाई मिल्काउदै समाजवाद नल्याए सम्म भ्रष्टाचारको अन्त्य नहुने ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो “पुँजीवादी व्यवस्थामा व्यक्तिगत स्वार्थ र निजीत्वले भ्रष्टाचार मौलाएको हो । समाजवादमा सामुहिक स्वामित्वमा केन्द्रीत हुन्छ । निजित्व वा व्यक्तिगत स्वार्थ कम हुदै जान्छ । जसले गर्दा भ्रष्टाचार हुन पाउदैन ।”

महासचिव ‘विप्लव सी ले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको समेत बताउनु भयो ।

उहाँले भ्रष्टाचार विरोधी लडाईमा सरकार आफैं सहभागी हुनु राम्रो काम भएको उल्लेख गर्दै त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहने विश्वास दिलाउनु भयो ।

महासचिव ‘विप्लव सीले ७२ अर्वको कर नतिर्ने एनसेल कम्पनीलाई आफ्नो पार्टीले कार्वाही गर्दा पार्टी माथि प्रतिवन्ध लागेको घटना स्मरण गर्दै यदि त्यो समयमा श्रेष्ठ गृहमन्त्री भएको भए आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि ? भन्ने कुरा अहिले आफूलाई लागि रहेको समेत बताउनु भयो ।

उहाँले समाजवाद विना भ्रष्टाचारको अन्त्य नहुने र पुष्पलालको सपना पनि पुरा नहुने भन्दै समाजवादी व्यवस्था ल्याउने अभियानमा सवै लाग्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिवद्धता जनाउनु भयो ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कने हुन् कि भन्ने आशंका उब्जिएका बेला उहाँले दोषी देखिएका सबैलाई कानुनी कारबाही गरिने विश्वास दिलाउनु भयो ।

गृहमन्त्री श्रेष्ठले निष्पक्ष रुपमा अनुसन्धान गर्न आफूले निर्देशन दिएको र दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने बताउनु भयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताउनु भयो । उपाध्यक्ष पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको उल्लेख गर्दै भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताउनु भयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यता रहेको बताउनु भयो ।

उहाँले महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने भन्दै राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस