९ साउन, कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ९ तिखातीमा एकजना पुरुषको भिरबाट खसेर मृत्यु भएको छ । तिखाती घर भएका ५९ बर्षिय धीर वहादुर शाहीको गाउँ नजिकैको फुकगाड कुलोको मुहानमा भिरबाट खसेर मृत्यु भएको हो ।
गाउँको कुलोको खेताला समेत रहेका शाही कुलोमा मरेर अट्किएको गाईलाई निकाल्ने क्रममा भिरबाट खसेर गम्भीर घाईते भएका थिए ।
उनलाई भिरबाट खसे लगत्तै रास्कोट गौतु अस्पतालमा उपचार गर्न लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
मृतक शाहीको साथमा गाई निकाल्न सहयोगमा गर्न गएका २ जना स्थानीयले गाई कुलोबाट वाहिर निकाल्न खोज्दा चिप्लिएर भिरबाट खसेको बताएका छन ।
मृतक शाही सहिद परिवार पनि हुन । उनका कान्छो भाई पूर्ण बहादुर शाही (संगीन) जनमुक्ति सेनामा भएको बेला रुकुमको खारा लडाईमा सहिद भएका थिए । मृतक शाहीका २ छोरा,श्रीमती छन । घटना स्थलमा प्रहरी मुचुल्का पछि मृतक शाहीको आजै हिन्दु परम्परा अनुसार दाहासंस्कार गरिदैछ ।