८ असाेज, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी प्रवक्ता प्रकाण्डले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र राज्यको पुनर्संरचना गरेर देशलाई अग्रगामी निकास दिनुपर्ने बताउनु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिले बुधबार आयोजना गरेको ‘जेनजी बिद्रोह र राजनीतिक निकासको प्रश्न’ बिषयक अन्तर्कृयालाई सम्बोधन गर्ने क्रममा उहाँले यथास्थितिमा संकटको निकास असंभव रहेको बताउनु भयो ।
सम्बोधनको क्रममा उहाँले कम्युनिस्ट आन्दोलन आफ्नो आन्तरिक कारणले नै कमजोर भएकोले आन्दोलनलाई फेरिएको परिस्थिति र जनताको मागबमोजिम पुनर्गठन गर्नु अनिवार्य रहेको बताउनु भयो।
“साम्राज्यवादी शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्न सक्रिय छन् । कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति विरुद्धको षड्यन्त्रको एउटा उदाहरण हालै जेनजी आन्दोलनमा भएको घुसपैठ, विध्वंस र त्यसपछि सरकार निर्माण प्रक्रियामा देखिएको बाह्य पहल हेर्दा पनि हामी कहाँ छौं स्पस्ट देख्न सकिन्छ ।” प्रवक्ता प्रकाण्डले भन्नु भयो, “त्यसैले अब जति छिटो हामी आफ्ना कमजोरी सच्याएर अगाडि बढ्छौ, त्यति नै देशले निकास पाउँछ अन्यथा कम्युनिस्ट पार्टीहरुको भबिष्य समेत खतरामा पर्न सक्छ” ।

कम्युनिस्ट आन्दोलन भित्र र सरकारमा पुगेका कम्युनिस्ट पार्टी र नेताहरुका कमजोरीका कारण केहि समस्या थपिएको भएपनि कम्युनिस्ट पार्टी र समाजवादको भविस्य नै उज्ज्वल रहेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले सबै कम्युनिस्ट पार्टीहरुले अब नयाँ ढङ्गले सोच्नु पर्ने बेला आएको बताउनुभयो ।
उहाँले साम्राज्यवादीको आक्रमणबाट कम्युनिस्ट आन्दोलन रक्षा गर्न जरुरी रहेको निष्कर्ष निकाल्दै नेकपाले बिचार मिल्ने पार्टीसङ्ग एजता र तत्काल एकता संभव नभए पुनर्गठनको उदेश्य सहित कार्यगत एकता वा मोर्चा निर्माणका लागि बार्ता टोलि समेत बनाएर छलफल अगाडि बढाउने निर्णय गरेको बताउनु भयो।
संसद र संविधानभित्रबाट निकास हुन नसक्ने संकेत गर्दै प्रवक्ता प्रकाण्डले भदौ २३ र २४ को जेनजी बिद्रोह अन्ततः संसदीय व्यवस्था र संविधानको नै असफलताको परिणाम भएकोले अब सरकार मात्रै फेरबदल गरेर होइन की सत्ताको पुनर्संरचना र संविधानको पुनर्लेखनबिना बिद्रोहको म्याण्डेट पुरा हुन नसक्ने बताउनु भयो

“जेनजी बिद्रोह भ्रष्टाचार र कुशासन विरुद्ध जनतको आक्रोश हो यदि उक्त कुरालाई समाधान गर्ने हो भने भ्रष्टाचार जन्माउने राजकीय संरचनाहरु नै बदल्नु पर्छ र संविधान पुनर्लेखन गर्नु पर्छ अन्यथा प्रतिक्रान्ति र बिदेशी षड्यन्त्र हाबी हुनेछ ।” उहाँले भन्नु भयो।
उहाँले सरकार निर्माण प्रक्रिया, मन्त्रीहरुको अनुहार, पृष्ठभूमि र कार्यप्रक्रिया हेर्दा देशमा चुनाव गराउने , स्थायित्व र निकास प्राप्त हुने भन्दा पनि साम्राज्यवादी योजना अनुसार थप संकट पैदा हुनसक्ने खतराको संकेत रहेको बताउनु भयो।
समसामयिक राजनीतिक परिस्थिति र निकासको सन्दर्भलाई स्पष्ट गर्दै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी, परिवर्तनकारी र आन्दोलनकारी राजनीतिक शक्तिको संयुक्त सरकार र त्यसले दिने निकास मार्फत अघि बढ्नुपर्ने र उक्त सरकारले जेनजी बिद्रोह लगायत बिगतका आन्दोलनका अपेक्षा पुरा गर्न काम गर्नुपर्ने प्रकाण्डको भनाइ थियो।
