विद्यालयका प्रअ र वडा अध्यक्षको नाममा ९लाख ९२ हजार बेरुजु


९ मसिंर,कालिकोट । कालिकोट जिल्लाको एक विद्यालयमा सार्वजनिक सुनुवाई गर्दा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षको नाममा लाखौं रकम वेरुजु देखिएको छ ।
खाँडाचक्र नगरपालिका ४ मा रहेको नवज्योति आधारभुत विद्यालयमा ९ वर्ष पछि गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रधानाध्यापक र वडा अध्यक्षको नाममा ९लाख ९२ हजार रुपैया वेरुजु देखिएको हो ।
विद्यालयले आर्थिक वर्ष २०६९÷०७० देखि आर्थिक वर्ष २०७६÷०७७ सम्मको एक कार्यक्रमको आयोजना गरि सोमवार सार्वजनिक सुनुवाई गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक राम बहादुर बोगटीको नाममा ८ लाख ३२ हजार र वडा अध्यक्ष धनसिंह विकको नाममा १ लाख ६० हजार रुपैया वेरुजु देखिएको अभिभावकहरुले वताएका छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रधानाध्यापक बोगटीले १५ दिन भित्र छुटेका विल,भरपाई मिलान गर्ने र विल भर्पाई अपुग भए आफ्नो नाममा आएको वेरुजु रकम तिर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
वडा अध्यक्ष विकले विद्यालयको रकमबाट ३ लाख २४ हजार ५ सय रुपैया सापटी लिएको देखिएको छ । जसमध्य १ लाख ६४ हजार ५ सय रुपैया विद्यालयलाई फिर्ता दिएको भेटिएको छ भने १ लाख ६० हजार रुपैया वेरुजु भएको अभिभावहरुले वताएका छन । वडाअध्यक्ष विकले आफुले ६० हजारको विद्यालयमा सामान किनेको र विल भर्पाई दिएको भएपनि विल भर्पाइहरु विद्यालय प्रशासनले हराएको आरोप लगाउनु भएको छ । उहाँले विद्यालयलाई १ लाख रुपैया फिर्ता गर्न वाँकी रहेको समेत स्वीकार गर्नु भएको छ । अध्यक्ष विकले विद्यालयलाई १५ दिन भित्र १ लाख ६० हजारको विल भर्पाइ र वाँकी रकम फिर्ता गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
विद्यालयमा ५ जनाको शिक्षक दरबन्दी भएपनि हाल एक जना मात्र दरबन्दीमा कार्यरत शिक्षक रहनु भएको छ । हाल विद्यालयमा ४ जना निजि श्रोत,१ जना इसिडी शिक्षा वाट तलव भत्ता खाने गरि शिक्षक कार्यरत छन । त्यस्तै विद्यालयमा १ जना कार्यालय सहयोगी रहेका छन् ।
जम्मा २ सय १६ जना विद्यार्थी रहको विद्यालयमा भौतिक पुर्वाधारको अवस्था जिर्ण छ छ भने शैक्षिक सामग्रीको पनि अभाव छ ।
सामाजिक अभियान्ता बाले विश्वकर्माले विद्यालयमा धेरै अनियमिता भएको र यसलाई रोक्न अभिभावक सक्रिय हुनु पर्ने सुझाव दिनु भएको छ ।
विद्यालयका प्रअले यति सम्मको अनियमिता गर्नु भएको छकि विद्यालयका निजी श्रोत वाट रकम दिने गरि २०७४ मंसिर २५ गते देखि हस्त विकलाई शिक्षकको लागि नियुक्ति दिनु भएको छ भने नक्कली भर्पाइ वनार्ई असोज महिनाबाट २५ हजार रुपैया किर्ते कागज मिलाएर तलव खुवाएको देखाउनु भएको छ ।
शिक्षक हस्त विकले भने आफुले कुनै तलव नलिएको तर किर्ते हस्ताक्षर गरेर आफ्नो नाममा तलब रकम खुवाएको देखियो यो गम्भीर अनियमिता हो भन्नु भएको छ । सार्वजनिक कार्यक्रममा सहभागी प्राय अधिकाँस अभिभावकले विद्यालयको अनियमिता गर्ने जोही भएपनि छुट दिन नहुने वताएका छन । शिक्षा जस्तो क्षेत्रमा अनियमिता गर्नु लाजमर्दो काम भएको अभिभावकहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस