फाइल तस्बिर
८ पाैष, जुम्ला । जुम्लामा टाइफाइड राेग विरूद्वकाे खोप अभियान आजबाट संचालन हुदैछ । जिल्लाका सबै स्थानीय तहमा आज पाैष ८ गतेदेखि १३ गतेसम्म टाइफाइड राेग विरूद्वकाे खोप अभियान संचालन हुन लागेको हाे ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्ला मार्फत जिल्लाका ८ वटै स्थानीय तहमा खोप अभियान संचालन हुदैछ । कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा पाैष ८,९ र १० गते खोप अभियान सञ्चालन गरिने कार्यालय प्रमुख कृष्ण साप्काेटाले बताउनुभयो ।
यस्तै तिला, तातोपानी, पातारासी, गुठीचाैर गाउँपालिका र चन्दननाथ नगरपालिकामा ११, १२ र १३ गते खाेप संचालन हुनेछ ।
जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प पछि सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम), दैलेख, जुम्ला, सल्यान, कालिकोट र सुर्खेतमा १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका सबैलाई टाइफाइड खोप दिन लागिएको छ।
खोपका कारण बाल र मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको स्वास्थ्य जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण साप्काेटाले बताउनु भयाे । ‘मृत्युदर घट्नुको प्रमुख कारण विभिन्न किसिमका खोप नै हो।’ कार्यालय प्रमुख साप्काेटाले भन्नुभयो, खोपबाट बचाउन सक्ने रोगहरू शुन्य पार्ने लक्ष्य हो।’
भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपान लगायतका कुराहरूबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान ल्याएको हो। टाइफाइड प्रमुख दिसाजन्य बस्तु, फोहोर पानीकै कारण हुने गर्दछ। पछिल्लो समय टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ।