९ पुस, काठमाडौ । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले गैर कानुनी रुपले आर्जन गरेको कालोधनलाई राज्यको मातहत ल्याउन ५०० र १००० का नोटहरु १० दिनभित्र खारेज गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
नेकपा (माओवादी)का महासचिव विप्लव सी नेतृत्वमा प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुले बुधवार पार्टीको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी ५०० र १००० का नोटहरु खारेज गरिनुपर्ने लगायतका १३ बुँदे मागहरु राख्दै १० दिन भित्र मागहरु पुरा गर्न अल्टिमेटम दिएका हुन ।
नेकपा (माओवादी) ले ५०० र १००० का नोटहरु खारेज गरेपछि त्यसको ठाउँमा नयाँ नोटहरु प्रचलनमा ल्याउन सकिने सुझाव दिदै यसले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने बताएको छ ।
माओवादीले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नु पर्ने , भ्रष्टाचारमाथिको मुद्धा हेर्ने शक्तिशाली न्यायलय गठन गर्नु पर्ने, उक्त न्यायलयको फैसलाको अन्तिम फैसला व्यवस्था गरिनु पर्ने र राज्यको सम्पति हिनामिना गर्ने भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गरी जन्मकैद हुने व्यवस्था गरिनुपर्ने माग समेत गरेको छ ।
नेकपा (माओवादी)ले आफ्नो ज्ञापनपत्रको पहिलो बुँदामा अहिलेको राजनीतिक संकटको निकासका लागि वर्तमान अन्तरिम सरकारलाई १० दिन भित्र भंग गरी सर्वपक्षीय सरकार गठन गर्न पनि जोडदार माग गरेको छ ।

नेकपा (माओवादी)ले जेन–जी विद्रोहको भावना अनुरुप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संसोधन गर्न पनि माग गरेको छ ।
माओवादीले आफ्नो पार्टीले राखेका मागहरु तोकिएको समयसिमाभित्र सरकारले पुरा नगरे पार्टी सडक संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।
नेकपा (माओवादी)ले भाद्र २३–३४ गते भएको गोली काण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नु पर्ने, असन्तुष्ट, वर्ग, जाति, लिङ्ग, समुदाय, र युवा लगायतका माग हरुलाई समेटेर संविधानको पुनर्लेखन गर्नु पर्ने, नयाँ संविधान अनुरुप राज्यको पुनरसंरचना गर्नु पर्ने, अग्राधिकार सहितको समाजवादी संघीय ढाँचामा गरिनुपर्ने र कार्यकारी प्रमुखको छनोट प्रत्यक्ष निर्वाचनबाट गरिनु पर्ने अडान राखेको छ ।
यस्तै ज्ञापनपत्रमा नेकपा (माओवादी)ले उच्चस्तरीय भूमि आयोग बनाएर छानबिन गर्नु पर्ने, वास्तविक सुकुम्बासीहरुलाई बाँसको सुनिश्चितता हुने गरी जमिन उपलब्ध गराउनु पर्ने माग पनि उल्लेख गरेको छ ।
पार्टीले अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भइरहेको साम्राज्यवादी हस्तक्षेप रोकी घुस पैठियाहरुलाई कडा कार्बाही गर्नु पर्ने र नेपाली मौलिक जनसंस्कृतमाथि भइरहेको साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गरिनु पर्ने समेत माग गरेको छ । नेकपा माओवादीले जेनजी विद्रोह भने पनि सारमा यो नेपाली जनताको राज्य विरुद्धको विद्रोह भएको निश्कर्ष ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
यस्तो छ ज्ञापनपत्रको पूर्ण पाठः

