१३ फागुन, बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गर्नु भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको भनाइ छ ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको बताउनु भयो ।
एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ,’ सिंहले भन्नु भयो, ‘एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।’
अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताउनु भयो । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।
प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उहाले बताउनु भयो । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन,’ महामन्त्री सिंहले भन्नु भयो ।