११ जेठ, धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताउनु भएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालयको आईतबार धनगढीमा उद्धाटन गर्दै उहाँले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताउनु भएको हो ।
नेता भरत सीले नेपालको अग्रगामी राजनीतिक संकटको निकास समाजवाद हुने र त्यसको नेतृत्वको विकल्प नेकपा मात्र भएको दाबी गर्नु भयो ।
दलाल पुँजीबाद संकटमा गईसकेको बताउदै उहाँले भन्नु भयो ‘नेपाली विशेषताको समाजबाद आजको आवश्यक हो । यसलाई कार्यान्वयन गर्ने विकल्पको पार्टी नेकपा हो ।’
१८ औ गणतन्त्र दिवसको पूर्बसन्ध्यामा पाटी दर्ता प्रकृयामा जान लागेको बताउदै उहाँले चुनाव क्रान्तिको एउटा मोर्चा भएकाले त्यसको उपयोग गर्न लागेको बताउनु भयो ।
‘गणतन्त्र के हुने ? भन्ने पनि छ, गणतन्त्र असफल भयो भनेर राजाबादीहरुले आन्दोलनको घोषणा पनि गरेका छन । सबै तीर निराशा छ । तर सकरात्मक र खुसी हुनु पर्ने अबस्थामा अलि अलि भएको खुसी पनि बाड्नु पर्ने छ । त्यही खुसी बाड्न सबैले एक ठाउँमा उभिन जरुरी छ’ उहाँले भन्नु भयो ।
नेता भरत सीले विकास निर्माणका सवालमा सबै पार्टीहरु एक ठाँउमा उभिनु पर्ने बताउदै सुदूरपश्चिम प्रदेशमा धेरै विकास गर्नु पर्ने बताउनु भयो ।
नेकपाले देश समृद्धिको लागि औद्योगिकरण अनिवार्य हुने भएकाले जनयुद्धका कारण विगत लामो समय देखि बन्द अबस्थामा रहेको लम्किचुवा स्थित बासुलिङ्ग सुगर मिललार्ई पुनसंचालन गर्न जनअभियान चलाउने घोषणा पनि गरेको छ ।
प्रदेश इन्चार्ज भरत सीले पार्टी कार्यालय उद्घाटनका अवसरमा जारी गरेको वक्तव्यमा देशको विकास सबैको साझा विषय भएकाले विकासमा तीव्रताका लागि जनदबाब दिन एकीकृत जनमार्च गर्नेबारे सबैसँग छलफल र सहकार्य गर्दै संयुक्त र एकल पहल गर्ने उल्लेख गरिएको छ ।
नेपालको पश्चिमक्षेत्रमा बढी भूकम्पीय जोखिमको क्षेत्र मानिएको र विगत केहि समय देखि लगातार भूकम्प गैरहेकाले तिनै तहका सरकारले सुरक्षित–भूकम्प प्रतिरोधी– आवासको ठोस नीति र योजना बनाई लागु गर्न बक्तब्य मार्फत माग गरिएको छ ।
नेपाल कमयुनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उदघाटन कार्यक्रममा अछामबाट धुब्रीकरण हुनु भएका सुरेश साउदलाई अविर लगाएर स्थायी समिति सदस्य भरत सीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कार्यालय सचिव विमल सीले गर्नु भएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज प्रकाश सीले गर्नु भएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
