अढाई वर्षमै प्राधिकरणले थप्यो ११ लाख ग्राहक

जेठ ११, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिरकणले पछिल्लो समयमा आक्रामक रुपमा ग्राहकको संख्या बढाइरहेको छ ।

यो समाचार अनलाइन खबरमा लेखिएको छ । ३ वर्षअघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्ने गरेको थियो । कुलमान घिसिङ  प्राधिकरणको नेतृत्वमा आएपछि मिटर माग्नेहरुले पनि तुरुन्तै नपाउने अवस्था अब हटेको छ ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ ।  यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको उनले बताए ।

प्राधिरकणले ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर लाइन नपुगेका क्षेत्रमा बिजुली सेवा पुर्‍याइरहेको छ । यसका लागि दातृ निकायले पनि सघाउँदै आएका छन् भने प्राधिरकणले आफैं पनि वाषिर्क रुपमा बजेट छुट्याएर विजुली सेवा विस्तारको काम गरिहरेको छ ।

अढाई वर्षमा करिब १२ प्रतिशतले विद्युत सेवा विस्तार गर्न सफल भएको प्राधिरकणले अबको ४ वर्षमा देशका सबै सम्भाब्य भागहरुमा बिजुली पुर्‍याइसक्यो लक्ष्य लिएको थियो ।

‘हामीले बिजुलीको पोल, ट्रान्सर्फमर र मिटरका आधारमा हुने राजनीति अन्त्य गर्न सकेका छौं । सर्वसाधारण जनतालाई पोल र ट्रान्सर्फमरका लागि अहिले नेताबाट फोन गराउनुपर्ने अवस्था छैन,’ घिसिङले भने, ‘जनताले माग गर्नासाथ अवस्था हेरेर प्राधिरकणले आवश्यक व्यवस्था गर्छ ।’

यसअघि प्राधिरमण्मा आवश्यक ट्रान्सर्फमरको पनि अभाव हुने गरेको थियो । हाल पर्याप्त ट्रान्सर्फमर आयात गरेर प्राधिरकणले वितरण सेवा विस्तार मात्रै गरेको छैन, सेवा गुणस्तरीय बनाएको छ ।

यसका कारण लो भोल्टेज र लाइन ट्रिप भएर बेला-बेलमा लाइन गइरहने समस्या पनि धेरै क्षेत्रमा हटेको छ । समस्या भएको क्षेत्रमा पनि प्राथमिकताका साथ लाइन जाने समस्या हटाउन काम भइरहेको घिसिङले बताए ।

प्राधिकरणले हाल देशभर १ सय वटा सवस्टेशन निर्माण गर्दैछ । काठमाडौंको वितरणलाइन सुधार गर्ने गरी सुधारको काम पनि भइरहेको छ ।

प्राधिकरणले विप्पने ग्राहकलाई निशुल्क मिटर बाँड्न योजना पनि ल्याएको छ । यसका कारण चोरीको दर पनि घटेको छ भने प्राधिकरणको आय पनि बढेको घिसिङले बताए ।

‘मिटर हाल्न नसकेकाहरुलाई हामीले निःशुल्क मिटर उपलब्ध गराउँदैछौं, यसले जनतालाई सहज भएको छ भने प्राधिकरणको पनि चुहावट घटेर फाइदा भएको छ,’ घिसिङले भने,’हिजो हुकिङ गर्न बाध्य जनताले अहिले सम्म्ानपूर्वक विजुली उपभोग गर्न पाएका छन् ।’

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका थिए ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३/७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४/७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयन लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस