ठुला भन्ने पार्टीहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भयोः बर्दियाली नेताहरु

९ असोज, बर्दिया । बर्दियाका राजनीतिक दलका नेता तथा व्यवसायीहरुले ठुला भन्ने पार्टीहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भएको निश्कर्ष निकालेका छन ।
विप्लव नेतृत्वको नेकपाले जिल्लाको वाँसगढीमा विहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस राजनीतिक दलका नेता तथा व्यवसायीहरुले ठुला भन्ने पार्टीहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भएको निश्कर्ष निकालेका हुन ।
उनीहरुले नेपालमा भ्रष्टाचार विरुद्धको आन्दोलन नेपालमा ढिलो भएको भन्दै यस्तो आन्दोलन अझै अगाडि नै हुनुपर्ने थियो भनेका छन ।
नेकपाका बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले जेनीजी आन्दोलन भ्रष्टाचार र बेथिति विरुद्धको उत्कर्षको आन्दोलन भएको बताउनु भयो । उहाँले ठुला भन्ने दलका नेताहरुको भ्रष्टाचार र दम्भले जेनजी आन्दोलन भएको ठोकुवा गर्नु भयो ।
उहाँले आन्दोलनको एजेण्डा सकरात्मक भएको भएपनि आन्दोलनलाई विदेशीहरुको चलखेलमा उपलव्धी विहिन बनाईएको टिप्पणी गर्नु भयो ।
नेता हिमशिखरले विचार र गन्तव्य सहितको आन्दोलन नहुदा फेरी पनि भ्रष्टाचारीहरुले टाउको उठाउने ठाउँ देखिएको आसंका गर्नु भयो ।
उहाँले नेपालमा ठुला भन्ने दलका नेताहरुको राजनीति जेनजी आन्दोलनले समाप्त गरेको जिकिर पनि गर्नु भयो ।
अब नयाँ कम्युनिष्ट केन्द्र बनाएर समाजवादका लागि कम्युनिष्टहरु एकठाउँमा आउनु पर्ने उहाँले औल्याउदै पुराना नेताको ससम्मान विदाई गरी नयाँ विचार सहित युवापंक्तिले नेतृत्व नगरेसम्म निकास नहुने विचार राख्नु भयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार सदस्य बुद्धिसागर अधिकारीले नेपालमा कम्युनिष्टहरु नसच्चिएसम्म कम्युनिष्ट पार्टी बनाएर जान सकिने अवस्था नरहेको टिप्पणी गर्नु भयो ।
ठुला दलहरुका नेताहरुले भ्रष्टाचार गर्दा जेनजी आन्दोलनले बढारेको जिकिर गर्नु भयो । नेपालमा कम्युनिष्ट हौ भन्नका लागि रुपान्तरण सहित एकता हुनुपर्ने उहाँले सुझाव दिनु भयो ।
उहाँले एनजिओ आइएनजिओ मार्फत विदेशीहरुको चलखेल र हस्तक्षेप बढिरहेको बताउनु भयो । नेकपा बहुमतका नेता शक्तिले माओवादी आन्दोलन भन्दा जेनजी आन्दोलनले ठुलो विध्वसं गरेको बताउनु भयो ।
उहाँले ठुला दलका नेताहरुको भ्रष्टाचार र बेथितिका कारण नेपालमा जेनजी आन्दोलन भएको बताउदै दलाल व्यवस्थामा परिर्वतनको विकल्प नभएको बताउनु भयो ।
नेकपा एमालेका जिल्ला लेखा समिति सदस्य बलराम देवकोटाले शासकिय सोच हुनु र पुरानै चिन्तन शैली हुनुले नेपालमा समस्या आएको बताउनु भयो ।
उहाँले दलका नेताहरु रुपान्तरण भएनन भने र आत्माआलोचना गरेनन भने अगाडि बढन कठिन भएको विचार राख्नु भयो ।
नेकपा (माओवादी केन्द्र) का नेता राजु शाक्यले पुराना पार्टीका नेताहरु भ्रष्टाचारी हुदै जाँदा नेपालमा जेनजी विद्रोह जन्मिएको बताउनु भयो ।
उहाँले माओवादीबाट समेत जनताको आसा अपेक्षा अनुसार कामहरु हुन नसक्दा जनता निरास भएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा समाजसेवि वुद्धजीवी एवम उद्योगी व्यवसायी नर बहादुर वलीले नेपालमा राजनीतिक नेतृत्वकै समस्याका कारण समस्या आएको टिप्पणी गर्नु भयो । उहाँले हरेक पार्टीमा राम्रा र खराव दुबै प्रवृतिहरु रहेको भन्दै खराबहरुको संख्या बढेका कारण नेपालमा जेनजी आन्दोलनको अवथासम्म देश पुगेको धारणा राख्नु भयो । उहाँले उद्योग व्यवसासीहरुलाई अझै ढुक्क भएर लगानी गर्ने बातावरण नभएको पनि गुनासो गर्नु भयो ।
यस्तै उद्योग वाणिज्य संघ बाँसगढीका अध्यक्ष बद्री बरालले देश भ्रष्टाचारले उकुस मुकुस भएको बेला जेनजी विद्रोह हुनै पर्ने अवस्था आएको बताउनु भयो ।
उहाँले जहिले पनि आन्दोलन हुने र निजी क्षेत्र धरासय हुने अवस्था भएको भन्दै जेनजी विद्रोहले पनि निजी क्षेत्रलाई ठुलो क्षेति पुर्याएको बताउनु भयो । उहाँले कम्युनिष्टहरु नसच्चिएसम्म र एकै ठाउँ नआएसम्म देशको विकास नहुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा राजनैतिक विश्लेशक दिप ब शाही,अखिल(क्रान्तीकारी)का युवा नेता रेशम अधिकारी, वामपन्थी विश्लेषक झपनाथ ढकाल, बामपंथी नेता लक्ष्मण गिरी र जनकलाकार एवं व्यवसायी .संगीतले आ आफ्नो धारणा राख्दै जेनजी विद्रोह नेपालका लागि जरुरी भएको बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा वाँसगढी नगर इन्चार्ज कामना सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस