सहिदको सपना पुरा भएको छैन,माओवादीको विशेष तत्व पुनर्जागृत हुनुपर्छंः भरत सी

१४ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले सहिदको सपना पुरा नभएकाले माओवादीको विशेष तत्व पूनर्जागृत हुनुपर्ने बताउनु भएको छ ।
नेकपा कालिकोटले रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई बुधवार सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले जनयुद्ध र एकीकृत जनक्रान्तिको सहिदको सपना पुरा नभएकाले माओवादीको विशेष तत्व पुनर्जागृत हुनुपर्ने बताउनु भएको हो ।
उहाँले रास्कोट सहिदको रगतले सिंचित भूमि भएको भन्दै कार्यक्रम स्थलमै चारजना सहिदहरुका शव गाडिएको स्मरण गर्नु भयो ।
नेता भरत सीले भन्नु भयो ‘यहि भूमिमा चार जना सहिदहरुको शव गाडिएका छन, त्यसमा मेरो आफ्नै भाई पनि सहिद भएको छ, आज उनीहरु लगायत सबै सहिदहरुको सपना पुरा भएको छैन, उनीहरुको सपना पुरा गर्न माओवादीहरु भित्र रहेको विशेष तत्व पुनर्जागृत हुनुपर्छ ।’
सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहनु भएका नेता भरत सीले कान्छो जिल्ला र लडाकु तथा नेताहरुको जिल्लाको पहिचान कालिकोटले दिएको बताउनु भयो ।
उहाँले यो जिल्लाले फेरी पनि एकीकृत जनक्रान्तिको कार्यभार पुरा गरेर नयाँ पहिचान दिन आवश्यक भएको बताउनु भयो ।
उहाँले नेपालको दलाल पुँजीवादी व्यवस्थाको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको जिकिर गर्दै समाजवाद ल्याउने अभियानमा सबै रास्कोटी जनताले एकपटक नेकपालाई साथ दिन अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस