माओवादी केन्द्रका नेता विजयमाथि कमिशन धन्धाको आरोपः ‘३ लाखको योजनामा ५० हजार लिएको खुलासा’

१३ बैसाख, कालिकोट । नेकपा (माओवादी केन्द्र) रास्कोट नगर कमिटीका इन्चार्ज विष्णु प्रसाद बराल (विजय) माथि चर्को कमिशन धन्धाको आरोप लागेको छ ।

विजयले रास्कोट नगरपालिकाको फूकोटका केही योजनाहरुमा रकम हालिदिएको भन्दै चर्को कमिशन असुल गरेको आरोप लागेको हो ।

माओवादी केन्द्रका नेता विजयले २०७७ सालमा वडा नम्वर ८को राता ढुङ्गा देखि पानी गौंडा सम्मको सडकको मर्मत सम्भारको तीन लाखको आयोजनामा ५० हजार कमिशन खाएको समितिका एक सदस्यले नै खुलासा गरेका छन ।

समितिका सदस्यले नाम नभन्ने शर्तमा भने ’डोजरले बाँखरकोटी गाउँसम्म जाने ट्याक खोली सकेपछि त्यसको मर्मत सम्भारको लागि ३ लाख आएको थियो । त्यसैमा विजयले ५० हजार कमिशन खाए । जसले गर्दा कामदारलाई पारिश्रमिक दिन पनि पुगेन ।’ समितिका सदस्यले रकम बेला बेला माग्दा पनि विजयले नदिएको गुनासो पोखे ।

उनले विजयले सुरुमा आफ्नो गाडी विग्रिएकाले बनाउनका लागि सापटी भनेर ५० हजार लिएको बताएका छन । तर पछि विजयले उल्टै धम्की दिदै योजना हालिदिएकाले पैसा फिर्ता नमाग्न उर्दि जारी गरेको दुखेसो पोखेका छन ।

पीडित उपभोक्ता समितिका सदस्यले भने ‘पहिले विजयले मेरो गाडी बनाउनु छ, मलाई पचास हजार दिनुहोस् भनेर माग्नुभयो, पछि फिर्ता माग्दा छैन खर्च भइसक्यो । योजना हालिएको भएन भनेर उल्टै हप्काउनुभयो ।’

५० हजार कमिसन लिएकोबारे नेकपा (माओवादी केन्द्र)का रास्कोट इन्चार्ज विजयले भने त्यो त्यतिबेलाको वडामा योजना मिलाउदा एउटा योजनाबाट अर्को योजनामा रकम मिलाएको हुनसक्ने ज्वाला खवरलाई बताउनु भएको छ । उहाँले आफुले कुनै योजनाबाट कमिसन नलिएको बचाउ गर्नु भएको छ ।

तर विजयले वाँखरकोटको सडक ट्रयाक खोल्ने क्रममा पनि चर्को कमिशन लिएको निमार्ण समितिका अर्का सदस्यले आरोप लगाएका छन ।

रास्कोटवासी जनताले विजयको लुटको धन्धाले सीमा नाघेको बताउन थालेका छन । नगरका विभिन्न योजनामा विजयले चर्को कमिशन खाने गरेका छन । आफ्नै वडा नम्वर ८को योजनामा समेत विजयले जनताको रकम लुट्ने धन्धा चलाएको एक स्थानीयले भने ।

वडा नम्वर ८ का एक स्थानीयले नाम नभन्ने शर्तमा भने ‘योजनामा कमिशन खाएर, लुटतन्त्र नमच्चाएको भए आरसीपी वजारमा कसरी घर बन्थ्यो ? कसरी गाडी घोडा बन्थे ? उसको अरु श्रोत के छ ? उसको घरको अवस्था केहो ? हामीलाई रामोसंग थाहा छ ।’

माओवादी हुनु अघि उहाँको आर्थिक अवस्था एकदमै नाजुक थियो । जनमुक्ति सेनाको अवकास पछि विजयले केही पाएको पैसाले सुर्खेतमा जग्गा लिएर घर बनाउनु भएको थियो । तर पछिल्लो रास्कोटको आरसीपी बजारमा घर र जग्गा भने कमिशनकै खेलले लगाएको स्थानीयले आरोप लगाएका छन ।

विजयले रास्कोटमा हुदै गर्दा आरसीपी बजारमा जग्गा किनेर पक्की घर बनाउनु भएको छ भने गाडी समेत किन्नु भएको छ ।

कांग्रेस र एमालेका नेताहरुले कमिशन खानु, भ्रष्टाचार गर्नु स्वभाविक रुपमा लिने गरिएको छ । किनकी उनीहरु संसदीय राजनीतिमा त्यही सिकेर आएका पार्टीका नेताहरु हुन । ‘तर माओवादी भने १० वर्षको महान जनयुद्ध लडेर आएको परिवर्तनकारी शक्ति हो । सामुहिकहित र स्वार्थमा विश्वास गर्ने शक्ति हो’ एक स्थानीयले भने । विजय जस्ता व्यक्तिको गतिविधिले माओवादी उल्टो दिशामा रुपान्तरण भएको जनताको आरोप छ ।

स्थानीयवासीहरु गाउँमा सबै भन्दा बढी माओवादी नेताहरुले कमिशनको धन्धा गरेको देख्दा असन्तुष्टि जनाइरहेका छन । जनतामा माओवादीप्रतिको विश्वास घुम्दै मात्र गएको छैन व्यापक वितृष्णा समेत फैलिएको छ ।

माओवादी केन्द्रका नगर इन्चार्ज विजयको कमिशनको घटनाले वडा नम्वर ८ का जनता बाक्क दिक्क भएका छन । जनताले खुलेर विरोध गर्न सकेका छैनन् । तर जनताले राम्रोसंग बुझेका छकि जनताको रकममाथि लुटपाट गर्ने यही विजय हो ।

स्थानीयहरुले सामान्य ३ लाखको योजनामा ५० हजार कमिशन खाने विजयले ठुलो योजनामा कति कमिशन खाए होलान राम्रोसंग बुझन पाएका छन ।

२०७४ को चुनाव पछि नेकपा माओवादी केन्द्रका नेता महेन्द्र वहादुर शाही मुख्यमन्त्री भएको समयमा प्रदेशवाट योजना पारिदिएको भन्दै चर्को कमिशन खाने गरेको पनि विजयमाथि आरोप छ ।

रास्कोट नगरपालिकामा माआवादी पार्टीले जितेका कारण साना तिना केही योजना पार्ने र चर्को कमिशन खाने गरेको विजयका गतिविधिले पुष्टि गरेको छ ।

विजयले उठाउने कमिशन उहाँ भन्दा माथिल्लो निकायमा समेत पुग्ने गरेको माओवादी केन्द्रको एक आन्तरिक श्रोतले बताएको छ ।

माओवादी केन्द्रका नेता विजयमाथि भात्तडीमा आफ्नो जग्गामा रुखहरु नहुदा पनि रुख छ भनेर फूकोट हाईड्रोबाट क्षेतिपूर्ति वाफत राहत खान खाेजेकाे आरोप पनि स्थानीयले लगाएका छन । स्थानीय अर्का विष्णु बरालले जग्गामा रुख नहुदा पनि आफ्नो जग्गामा भएको रुखको आएको राहत विजयले खान खाेजेकाे भन्दै असन्तुष्टि पोख्नु भएको छ ।

माओवादी नेता विजयले भने आफ्नो जग्गाको कित्ता नम्वर २१२ र २८५ मा बुट्टाहरु देखिएकाले राहत लिएको दाबी गर्नु भएको छ ।

बडा नम्वर ८का स्थानीयवासी समेत रहनु भएका विजयको कमिशन र लुटतन्त्र शिक्षा क्षेत्रमा समेत रहेको स्थानीयले आरोप लगाउने गरेका छन ।

वडा नम्वर ८ को जनजागृति माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा ठुलो अनियमिता भएको खुल्न आएको छ । उहाँ विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ अध्यक्ष भएको २ कार्यकाल पुरा भयो ।

विद्यालयमा हरेक योजना र काममा कमिशन मात्रको खेल हुने गरेको विद्यालयको आन्तरिक श्रोतले बताएको छ ।

उहाँले विद्यालयमा राहत तथा निजी श्रोतबाट शिक्षक नियुक्ति गर्दा पहिल्यै कमिशन आएर प्रश्नपत्र आउट गरेर पास गराएको विद्यालय भित्रकै एक कर्मचारीले खुलासा गरेका छन ।

व्यवस्थापन समितिका अध्यक्ष रहनु भएका विजयले कमिशन कत्ति खानु भएर प्रश्नपत्र आउट गर्नु भएको हो भन्ने वारे नखुले पनि उहाँले मोटो रकम खाएको हुन सक्ने एक श्रोतले बताएको छ ।

यस्तै विद्यालयको आर्थिक विकासका लागि २०८० सालमा विद्यालयमा लगाईएको महायज्ञमा समेत आर्थिक पारदर्शिता नभएको अभिभावकहरुले उठाउने गरेका छन । अहिलेसम्म महायज्ञबाट प्राप्त आय व्यायको सार्वजनिक सुनुवाई समेत गरिएको छैन ।

महायज्ञ आयोजक मुल समितिका संयोजक टंक वरालले २५ लाखको आम्दानी भएको बताए पनि सार्वजनिक सुनुवाई हुन नसकेको स्वीकार गर्नु भयो ।

माओवादी केन्द्रका रास्कोट इन्चार्ज तथा जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विजयले शिक्षक नियुक्तिकावारे अनविज्ञता व्यक्त गर्नु भयो । विद्यालयमा लागेको महायज्ञमा आफु नजोडिएको र अनियमितता नभएको जवाफ दिनु भयो ।

उहाँले महायज्ञ मुल आयोजक समितिले विद्यालय व्यवस्थापन समितिमा हिसाब बुझाएको र केही घोषणा भएको सहयोग रकम उठ्न बाँकी रहेका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने विद्यालयमा व्यापक अनियमिता भएको दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस