केसीको समर्थनमा प्रदर्शन गर्नेहरू गिरफ्तार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

असोज १० काठमाडौँ । स्वास्थ्य शिक्षा सुधारलगायत माग राख्दै दुई साताअघि जुम्लाबाट १९ औँ आमरण अनशन सुरु गरेका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । डा. केसीका मागहरूको समर्थन र उहाँको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै गर्दा उहाँका समर्थक र शुभेच्छुकहरूलाई केपी वली सरकारले गिरफ्तार गरेको छ ।
केसीका समर्थकहरूले केसीका माग पूरा गर्न दबाब दिने उद्देश्यले शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन सुरु गर्ना साथ प्रहरीले प्लेकार्ड, ब्यानर सहित समर्थकलाई भ्यानमा कोचेको हो । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी वलीका विरुद्ध नाराबाजी गरेका थिए । समर्थकहरूले डा. केसीको समर्थनमा पनि नारा लगाएका थिए ।
डा. केसीलाई सरकारले अनशनरत जुम्लाबाट जबर्जस्ती काठमाडौँ ल्याएको छ तर केसीले आफ्ना माग र अनशन जारी राख्नु भएको छ । केसीले आफू माग पूरा गराउन प्रतिबद्ध रहेको र अनशनस्थलमै मर्नुपरे त्यसका लागि पनि तयार रहेको बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस