भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

मंसिर १०, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गर्नु भएको छ ।

कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उहाँले बताउनु भयाे । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भन्नु भयाे, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’

त्यही कारण आफूहरुले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उहाँले सुनाउनु भयाे । तर सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको देउवाको आरोप छ ।

कांग्रेस सभापति देउवाले भन्नु भयाे, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको देखिएन ।’

प्रतिक्रिया दिनुहोस