ओलीको कदम विरुद्ध बृहत नागरिक आन्दोलन सुरू


११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ ।
१८ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको लेखक एवं अभियन्ता युग पाठकर्ले जानकारी दिनु भयो । उहाँका अनुसार १३ पुसमा डम्फु एपिसोड, १५ पुसमा धिमे एपिसोड, १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गरिने कार्यक्रम छ ।
संसद पुनस्र्थापना भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्दै जाने पाठकले बताउनु भयो ।
माइतीघर मण्डलामा आयोजित शंख एपिसोडमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन ल्याएको विरोधमा शंख बजाएर प्रदर्शन गरिएको थियो ।
लेखक, साहित्यकार, कलकार, पत्रकार, अधिकारकर्मीहरू उल्टो हिंडेर संसद पुनस्र्थापनाको माग गरेका थिए । प्रदर्शनमा प्रधानमन्त्रीसँगै राष्ट्रपतिको समेत कार्टून बनाइएको थियो ।
शंख एपिसोडपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले २०६२र०६३ को आन्दोलनबाट प्राप्त उपलब्ध गुम्न दिन नहुने धारणा राख्नु भयो । जतिसुकै विवाद उत्पन्न भए पनि संसद पुनस्र्थापना गरेर त्यहीँबाटै समस्याको समाधान खोज्नुपर्नेमा उहाँको जोड थियो ।
प्राध्यापक बालकृष्ण माबुहाङले ओलीले चालेको प्रतिगामी कदमको विरोधमा महिला, पुरुष, नागरिक समाज, लेखक, कलाकारलगायतका सबै पेशाकर्मी उभिन जरुरी रहेको बताउनु भयो । विदेशी शक्तिसँग मिलेर गणतन्त्र र धर्मनिरपेक्षता समाप्त पार्ने षडयन्त्र भए पनि त्यो पुरा नहुने उहाँको भनाइ छ ।
‘पत्रपत्रिकामा केपी शर्मा ओलीलाई सांस्कृतिक राजतन्त्र पनि चाहिएको छ रे भन्ने पढेको छु’ माबुहाङले कार्यक्रममा भन्नु भयो , ‘संविधानमा उल्लेखित मौलिक अधिकार खाल्डोमा फाल्ने प्रधानमन्त्री ओलीको निर्णयप्रति क्षोभ व्यक्त गर्न चाहन्छु ।’
लेखक तथा पत्रकार नारायण वाग्लेले अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस