जनपक्षीय पत्रकारिताका आदर्श कृष्ण सेन ‘इच्छुक’ र हाम्रो यात्रा

‘बहादुरहरुले आफ्नो इतिहास आफै बनाउछन’– माक्र्स
हो, आज यो संसार बहादुरहरुको हो । काँतर र प्रतिक्रियावादीको होईन । डरछेरुवाहरुको होईन । संसारमा जो कोही बहादुर हुने कुरा पनि होईन । बहादुर हुने कुरा सामान्य पनि होईन र सबैको काबु भित्रको कुरा पनि होईन । जसले मृत्यु जित्न सक्दछ उ मात्र बहादुर बन्न सक्दछ । खास गरेर माक्र्सले ‘बहादुरहरुले आफ्नो इतिहास आफै बनाउछन’ भनेर जुन भनाई दिनु भएको छ । आज हामीले यो भनाईको आत्मसातिकरण गर्न जरुरी छ । एकजना जनताका नेता तथा जनपक्षीय पत्रकार होनहार साहित्यकार र कवि कृष्ण सेन (इच्छुक) भने बहादुरहरुको लिष्टमा आफ्नो नाम दर्ज गर्न सफल हुनु भएको छ । प्रतिक्रियावादीहरुको जेलमा अमानवीय यातनाहरुलाई सहर्ष स्वीकार गर्दै अजमरी बन्नु भएको छ । २०५९ साल जेठ ६ गते पक्राउ पर्नु भएका पत्रकार कृष्ण सेनलाई महेन्द्र पुलिस क्लवको हिरासतमा अमानवीय यातान दिएर जेठ १३ गते आजैको दिन हत्या गरिएको थियो । हत्यारा दुश्मनले सेनको लाससम्म पनि परिवार तथा आफन्तहरुलाई दिएको थिएन । पत्रकार कृष्ण सेन (इच्छुक)को हत्यालाई पीडाबोध र गौरव दुवै कोणले हेर्नु पर्ने हुन्छ । एउटा आँखाबाट हेर्दा यो दिन निकै पीडाबोधको दिन छ । पत्रकार मात्र होईन उहाँ सर्वहारा वर्गको नेता पनि हो र उहाँ गुमेको दिन छ । जनताको पक्षमा लेख्ने पत्रकार ढलेको दिन छ । यसले सिंगो परिवर्तन पक्षधरहरुलाई मर्मायीत बनाउने नै भयो । तर पनि अर्को आँखाले हेर्दा यो दिन गौरबको दिनको रुपमा लिनु पर्छ । कृष्ण सेन (इच्छुक)को एउटा भौतिक शरिर माटोमा मिसए पनि उहाँको विचार कहिल्यै पनि गल्ने छैन । नयाँ जन्म भएर हजारौं कृष्णसेन (इच्छुक) उदाएको दिन हो । जसले गर्दा यो दिन एउटा आदर्श र गौरबको दिन हो । समर्पणको दिन हो । बलिदनाको दिन हो । प्रतिक्रियावादीहरुको अगाडि नझुकेको दिन पनि हो । प्रक्रियावादीहरुलाई अर्ध पागल र बौलाह बनाएको दिन पनि हो । यो सामान्य दिन होईन । हजारौ हजार श्रमजीवी वर्गको नयाँ विहान ल्याउन रगत बगेको दिन हो । जसलाई यहाँ थोरै भएपनि सम्झिन खोजीरहेको छु ।

सत्यताका नायक
‘यदि एक जना व्यक्ति पनि सत्यताको पक्षमा छ भने, उसले वहुसंख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ’ –माओ । माओको यो भनाई पनि निकै गहकिलो छ । कुनै संख्याको कुरा होईन, सत्यको पक्षमा उभिने कुनै पनि व्यक्तिलाई हजारौंले साथ दिन्छन । अन्तत सत्यको विजय हुन्छ । उ जनताको नायक पनि हुन्छ । सत्यताको नायक पनि हुन्छ । आज कृष्ण सेन (इच्छुक) त्यो पदवी पाउन सफल हुन भएको छ । जहाँ हजारौं जनताको हितमा सत्य विचार लिएर संघर्ष गरिरहेको छ भने अवश्य पनि एकदिन उसको सफलता प्राप्त हुन्छ भनेर माओले भन्नेको कुरा प्रमाणीत भएको छ । जनयुद्धको बेला एउटा कलमको टुप्पोबाट जनताको मुक्तिका लागि लड्नु भएका कृष्ण सेन (इच्छुक) हामी सामु नभए पनि उहाँ लाखौंको मन र मस्तिष्कमा हुनुहुन्छ । हिजो जनादेशमा सम्पादक भएर काम गर्दै गर्दा उहाँ एक्कै जस्तो देखिए पनि आज हजारौ हजार क्रान्तिकारी जनपक्षीय पत्रकारहरुको ताँती छ । यसले के देखाउछ भने कृष्णसेन (इच्छुक) लाखौ मात्र होईन कराडौका विचमा हुनुहुन्छ । उहाँको आदर्श सगरमाथा भन्दा उच्चो भइरहेको छ ।

इच्छुकको आदर्श
तत्कालिन जनयुद्धको समयमा नेकपा माओवादीको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक हुनु भएका इच्छुकको जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । शोषित पीडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने राजनीतिक विचारक तथा आदर्शवान् व्यक्तित्व इच्छुक आफ्नो वर्ग र विचारप्रति सधैँ समर्पित हुनुहुन्थ्यो । सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । उहाँले आफ्नो प्रारम्भिक शिक्षा दाङको लालमटियामा लिनु भयो । सामान्य लाहुरे परिवारमा जन्मिनु भएका इच्छुकले आफ्नो जनसाहित्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गर्नु भएको थियो ।

बहुआयामिक व्यक्तित्वका धनी इच्छुक एक जुझारु जनपत्रकार हुनुहुन्थ्यो । प्रगतिशील साहित्यको क्षेत्रमा इच्छुकले छुट्टै छाप समाजलाई छाडनु भएको छ । उहाँको साहित्यिक रचनाले तत्कालीन नेपाली समाजको मथिंगल हल्लाइदिएको थियो भने शासकको निदहराम गरिदिएको थियो ।

दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उहाँकै सम्मान र सम्झनामा इच्छुकले ‘शोकाञ्जलि’ काव्य लेख्नु भयो । जुन २०४८ सालमा उहाँको पहिलो कृतिको रूपमा प्रकाशित भयो । इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८) आदि इच्छुकका कृति चर्चित छन् । उहाँले लेखेको ‘पर्खालभित्रका बन्द आवाजहरू’ प्रकाशनमा आइसकेको छैन ।

जुझारु क्रान्तिकारी योद्धा कृष्णसेन इच्छुक मूलतः नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सफल हुनु भयो । निरन्तर जनताका पक्षमा कलम चलाउने इच्छुकको पत्रकारिताबाट त्यति बेलाका शासकको मन–मुटु हल्लिन्थ्यो भने जनताले ऊर्जा प्राप्त गरेको महसुस गर्थे ।

क्रान्तिकारी योद्धा इच्छुकको भूमिकालाई तत्कालीन निरङ्कुश शासकले रुचाएनन् । इच्छुकलाई तत्कालीन सत्ताले पटक–पटक गरी दश वर्षसम्म जेलमा यातनापूर्वक थुन्यो । अन्त्यमा जनयुद्धकैबिचमा इच्छुकलाई २०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते उहाँको हत्या गरियो ।

विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ ।

इच्छुकले ४६ वर्षको उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन आहुति दिए तर कहिल्यै झुक्नु भएन । प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उहाँले पु¥याएको योगदान अतुलनीय छ ।

उहाँको त्यागबाट आजको नेपाली समाजले धेरै कुरा सिक्न जरुरी छ । अझ आफूलाई जनपक्षीय राजनीतिज्ञ भन्नेहरूले उहाँको आदर्शलाई व्यवहारमा लागु गर्न सक्नुपर्छ । उहाँको जस्तै सबैले त्याग गर्न सके आज पनि नेपाली समाजलाई रूपान्तरण गर्न समय लाग्दैन ।
उहाँले आफ्नो जीवनकालभरि जहिल्यै त्यागको प्रतीकका रूपमा भूमिका निर्वाह गर्नु भयो । उहाँले आफ्नो व्यक्तिगत लाभ, प्रतिष्ठा र सुविधामातर्फ कहिल्यै ध्यान दिनु भएन । सबै कुरा अरूलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने महान् भावना हामीले लिन जरुरी छ ।

हाम्रो यात्रा
इच्छुक आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक हुनु भयो । नेपाली जनपक्षीय पत्रकारिताका एक आदर्श, जनयुद्धका आदर्श नायक इच्छुकका योगदानलाई थप स्थापित गर्न आवश्यक छ । इच्छुकका वीरता, बलिदान र आदर्श नायकत्वबाट धेरै कुरा सिक्दै जीवन व्यवहारमा लागु गर्न सक्नुपर्छ । अनि मात्र इच्छुकप्रतिको सच्चा सम्मान हुन जान्छ । समाज रूपान्तरण अभियानमा निरन्तर खट्न सक्ने इच्छुक आस्था र निष्ठामा सतिसाल हुनु हुन्थ्यो । उहाँले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भूमिका र देखाएको बाटोलाई आजको सन्दर्भमा जनपक्षीय पत्रकारले अनुसरण गर्न भुल्नु हुँदैन ।

विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ । देशको मुक्ति र जनताको पक्षमा कमल चलाउँदा जेलनेल हुँदै अन्ततः जीवन नै बलिदान गर्न तयार हुने इच्छुकको जीवनबाट त्याग र समर्पण र जनपक्षीय पत्रकारिताको मूल्य सिक्न सक्नुपर्छ ।

कतिपय मान्छे मरेर पनि सधैँ बाँचिरहेका छन् । हो, कृष्ण सेन ‘इच्छुक’ यस्तै एउटा महान् मान्छे हुनुहुन्छ, जो मरेर पनि सधैँ बाँचिरहनु भएको छ । जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व इच्छुक आफ्नो आस्था र विचारप्रति सधैँ अडिग हुनुहुन्थयो । समाजमा हुने अन्याय, अत्याचारविरुद्ध कलममार्फत गर्जने जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्व ‘इच्छुक’प्रति हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस