जुलियस फयूचिक जस्तै लाग्छन् ‘कृष्ण सेन इच्छुक’

भूमिका
विश्वमा पत्रकार भित्रको प्रशिद्ध नाम जुलियस फ्यूचिक भएजस्तै नेपाली क्रान्तिकारी प्रगतिवादी पत्रकारिताको आन्दोलनमा एउटा आदर्श व्यक्तिको नाम हो ‘कृष्णसेन इच्छुक’ ! उनी कहिल्यै पनि सामन्ती निरंकुशताको शासन अगाडि झुकेनन् । जसरी जुलियस फ्यूचिक हिटलरको निरंकुशता अगाडि झुकेका थिएनन् । यी दुवै पत्रकार सर्वहारा श्रमजीवी जनताको स्वतन्त्रता र मुक्तिको लागि कलम चलाउन कहिल्यै हच्किचाएनन् । बरु सहिद हुन किन नपरोस् । महान व्यक्तित्व जुलियस र इच्छुक कहिल्यै पनि दुश्मनको सामु झुक्न जानेनन् । सामन्ती व्यवस्थाको अन्याय अत्याचार अघि कुनै जीवन रक्षाको भिख मागेनन् । जसका कारण दुवै जनालाई हत्या गरियो । इच्छुकलाई नेपालका सामन्ती सत्ताका हत्यारा मतियारहरुले जेलमै चरम यातना दिएर हत्या गरे । आज त्यस्तो आदर्श भित्रको आदर्श पात्रको रुपमा सर्वस्वीकारे व्यक्ति इच्छुक बन्नेका छन । इच्छुकलाई विश्वप्रशिद्ध पत्रकार जुलियस फ्यूचिको नयाँ रुपपनि भन्न सकिन्छ । जसकावारे यहाँ केही शव्द लेख्न अनुमति चाहान्छु ।

को हुन जुलियस फयूचिक ?

विश्व प्रशिद्ध चेकोस्लोभाकीयाका पत्रकार जुलियस फयूचिकले हिटलरको अत्याचारका विरुद्ध कलम चलाउदा फासीमा चढनु पर्यो । उनलाई निरंकुश सरकारको अदालतले २५ अगस्त १९४३ मा फाँंसीको सजाय तोक्यो । ८ सेप्टेम्वर १९४३ मा बर्लिनमा उनीसंगै १४३ जनालाई मृत्युदण्ड दियो । उनी लेखक तथा चेक कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पनि थिए । सन १९०३ को फेव्रअरीका दिन राजधानी प्रागमा एक मजदुर परिवारमा फ्यूचिकको जन्म भएको थियो ।
उनको रुचि राजनीति र साहित्य दुवैमा थियो । किशोरावस्थामा नै स्थानीय नाटयशालामा अभिनय पनि शुरु गरेका थिए । हिटलरको नाजिवादी हस्तक्षेपको कटु आलोचक मात्रै हैन फासिवाद विरुद्धको सशक्त अभियन्ता नै थिए । त्यसैले उनलाई हिटलरको गुप्तचर विभाग गेष्टापोले २४ अप्रिल १९४२ को वसन्तमा प्रागबाट गिरफ्तार गरी प्रागमा रहेको गेष्टापोको केन्द्रीय कार्यालयमा पहिलोपटक बन्दी बनाईएको थियो ।
त्यसपछि गेष्टापोले दिने संसारको सवैभन्दा कहालीलाग्दो यातनाहरु भोगेका थिए । कैदी जीवनकै अवधिमा उनले कागतको सानासाना टुक्रा र ठुटे पेन्सिलले फासिष्टहरुको अत्याचारहरुलाई दैनिकीका रुपमा लेख्दै उनलाई माया गर्ने र सहानुभूति राख्ने देशभक्त जेलको वार्डेनको सहयोगमा उनको श्रीमती गुस्तिनाले संकलन गरेको दैनिकी नै नेपालीमा प्रकाशित पुस्तक झुण्डयाउँदा झुण्डयाउँंंदै नामक विश्व प्रशिद्ध कृतिको रुपमा बाहिर आयो । यो साहासिक काम फ्यूचिकले गरे । आज उनी पत्रकार क्षेत्रमा अमर तथा विश्वप्रशिद्धको सूचीमा परेका छन ।

जुलियस फयूचिक जस्तै लाग्छन् ‘कृष्ण सेन इच्छुक’

देश र जनताको पक्षमा निडर भएर कलम चलाउने एउटा अर्को महान आदर्श व्यक्तिको रुपमा नाम लिदा इच्छुकलाई लिने गरिन्छ । उनलाई जनताको पक्षमा निडर भएर कलम चलाएकै कारण तत्कालिन निरंकुश सामन्ती राजतन्त्रात्मक सरकारले २०५९ साल जेठ ६ गते पक्राउ गर्यो । महेन्द्र पुलिस क्लवको हिरासतमा चरम भन्दा चरम यातना दिएर अमानवीय तरिकाले २०५९ जेठ १३ गते हत्या गरेको थियो । यो घटना मानवअधिकारको उल्लंघन मात्र थिएन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध थियो । जसरी जुलियसलाई हत्या गरियो त्यसरी नै जेलमै इच्छुकलाई पनि हत्या गरियो ।
निरंकुश सरकारले पक्राउ गरी हत्या गर्दा उनी जनादेश साप्ताहिकका प्रधानसम्पादक तथा जनदिशा दैनिकका सम्पादक थिए । पक्राउ पर्दा उनी ४६ वर्षको उमेरमा थिए । उनले २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति‘ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका थिए । उनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जलि’ काव्य लेखे जो २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भएको थियो ।
इच्छुकले जेल जीवनका क्रममा लेखेका शोकाञ्जलि २०४८, इतिहासको यस घडीमा २०५६, बन्दी र चन्द्रागिरी २०५८, पर्खालभित्रका बन्द आवाजहरु जस्ता कृति प्रकाशित भएका छन । ती कृतिहरुमा फासिवाद र तानाशाहको चर्को आलोचना छ । उनले कस्ता कविताहरु रचना गर्थे भन्ने कुरा तलको कविताको हरफले पनि सजिलै बुझन सकिन्छ ।
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
कृष्णसेन इच्छुक ‘‘प्रतिबन्ध’ कविताको हरफ

अन्तर्राष्ट्रिय स्तरमा एउदा आदर्श छवि बनाएका चर्चित एवम महान आदर्शमय पत्रकारहरु जुलियस फ्यूचिक, अन्ना लुईस स्ट्रङ्ग, एगनेज स्मेड, भन्दा इच्छुकको आदर्श कम थिएन । उनले आफ्नै कविताका हरफमा क्रान्तिकारी स्वरहरुमा प्रतिबन्ध लगाएपनि क्रान्ति नरोकिने भाव दिएका छन । उनले बोल्ने मुख र ओठहरुमा भोटे ताल्चा झुण्ड्याउदैमा क्रान्तिका गितहरु गाउन नरोकिने दुश्मनलाई चेतावनी दिएका छन । दुश्मनले जे नगर भन्छ क्रान्तिकारीहरुले ठिक त्यसको विपरित गरिरहका हुन्छ त्यो वहुसंख्यक श्रमजीवी वर्गको मुक्तिको लागि हो महान इच्छुकले दाबी गरेका छन । यो इच्छुकको आदर्श सामान्य होईन
हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि–याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।

इच्छुकले यो ‘प्रतिवन्ध’ कविताको अर्को हरफ हो । सायद ! यो पनि सामान्य विचारको छैन । सगरमाथा भन्दा उच्च छ, महासागर भन्दा फराकिलो छ । जसलाई सामान्य रुपमा लिन सकिदैन । नेपाली क्रान्तिकारी प्रगतिशील पत्रकारहरुको इतिहासमा यो सामान्य आस्था पनि होईन । श्रमजीवीसंग जोडिएको आस्था हो । गरिवका झुपडीसंग जोडिएको आस्था हो । जहाँ एक छाक खान पनि कठिन हुन्छ । जतिवेला सामन्ती निरंशुक राजतन्त्रात्मक व्यवस्थाले नेपाली श्रमजीवी वर्गमाथि चरम अत्याचार गरेको थियो । जहाँ मन लागेको खान जनताले पाएका थिएनन् । आफुमाथिको उत्पीडनका विरुद्ध बोल्न पाएका थिएनन् । लेख्न, र गाउन पाएका थिएन । त्यो बेला कलमका माध्यमबाट एउटा जाज्वल्यामान आदर्शको रुपमा कृष्णसेन ‘इच्छुक’ नेपाली धर्मीमा प्रकट हुन पुगे ।
ओ शासक–प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू ! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ

यो महान आदर्श इच्छुकको ‘प्रतिबन्ध’ कविताको अन्तीम हरफ हो । कविताको माध्यमबाट शासक प्रशासकको आदेश अस्वीकार गरिएको छ । तानाशाहरुका स्वच्छाचारी कदम विरुद्ध संघर्ष गर्ने बाचा गरिएको छ । इच्छुकले जनताका वैरीहरुलाई सक्छौ भने चेतनामा कैद गर होईन भने जनताको परिवर्तनको महान यात्रालाई कहिल्यै पनि रोक्ने कुचेष्टा नगर भन्दै चेतावनी दिएका छन । यो कविता एउटा आदर्शको नमुना मात्र हो । उनका सयौ आदर्शहरु र आदर्श योग्यकामहरु छन । जसलाई यहाँ एउटै सामग्रीमा चर्चा गर्न कठिन हुन्छ ।
जनताको पक्षमा कलम चलाएकै कारण उनलाई राप्ती साहित्य–सन्ध्या पुरस्कार २०५७, स्रष्टा पुरस्कार २०५८, साहित्य सङ्गम चितवन सम्मान २०५८, प्रगतिशील लेखक सङ्घ नेपाल सम्मान २०५९,पारिजात सिर्जन पुरस्कार २०५९ र कृष्णमणि साहित्य पुरस्कार २०५८ले सम्मान समेत गरिएको थियो । जुलियस फ्युचिकको ’झुण्डयाउँदा झुण्ड्याउँदै’ भन्ने कृति भन्दा इच्छुकका कृति कम छैनन् ।
उनलाई २०३६ सालको विद्यार्थी आन्दोलनमा निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार गर्यो । उनी २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटेका थिए ।
स्कूल पढ्दादेखि नै कृष्ण सेनलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ सालदेखि उनले दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा उनी क्म्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बने । पछि उनी संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य बने । साथै उनी अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद, पत्रकार महासङ्घका पार्षद, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भएका थिए ।

इच्छुकको आदर्श र सपना कसरी पुरा हुन्छ ?

इच्छुकको आदर्श जनताको व्यवस्था हो । जनवादी गणतन्त्र, समाजवाद र साम्यवाद हो । अभिव्यक्ति र प्रेस स्वतन्त्रता हो । मानवअधिकार हो । जहाँ कोही भोको हुदैन । जहाँ कोही नाङ्गो हुदैन । शिक्षा स्वास्थ्य नपाएर तड्पिनु पर्दैन, वेरोजगारीको समस्याले विदेश धाउनु पर्दैन । आत्मनिर्भर देश र जनता हुन्छ । सबै नेपालीको मनका खुसीको मुस्कान हुन्छ । यो सपना बोकेका इच्छुकको सपना महान जनयुद्धले पुरा गर्न सकेको छैन । जनयुद्धको विचैमा भएको विचलनले इच्छुक जस्तै महान सहिदहरुको सपना साकार हुन सकेको छैन । त्यसका लागि फेरी पनि दलाल पुँजीवादका विरुद्धको अर्को संघर्ष वाकी नै छ । नेपालमा दलालहरुहरुको सत्ता फाल्नै पर्छ । जनताको समाजवादी गणतन्त्रमा पुग्नै पर्छ । अनिमात्र इच्छुकहरुका सपना पुरा हुनेछन । अनिमात्र जुलियस फ्यूचिकका सपना पुरा हुनेछन । नेपाली इतिहासमा दोस्रो जुलियसको रुपमा उदाएका अजम्मरी तथा आदर्श पात्र इच्छुकले देखाएको बाटोमा हामी सबै लागौ । ‘कृष्ण सेन (इच्छुक) स्मृति र आदर्श’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस