११ असोज, बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य असल सीले जेनजी आन्दोलनले पनि देशको राजनीतिक संकट समाधान गर्न नसकेको बताउनु भएको छ ।
उहाँले अहिलेको राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्दै समाजवादमा पुग्न सर्वपक्षिय सरकार र संविधानको पूर्न लेखन नै एकमात्र संकटको अग्रगामी निकास भएको बताउनु भएको छ ।
नेकपा बाँकेले शनिवार कोहलपुरमा आयोजना गरेको ‘जेनजी विद्रोह, संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता असलले समाजवाद भन्दा अग्रगामी निकास अर्को बाटो नभएको भन्दै सर्वपक्षीय सरकार र संविधानको पूर्नलेखन गरेर जानु पर्ने बताउनु भएको हो ।
‘जेनजी विद्रोह सेवोटेज भयो, यसमा विदेशी शक्ति केन्द्रको घुसपैठ भयो, आन्दोलनको उपलव्धी जेनजीहरुको हातमा आएन’ नेता असलले भन्नु भयो, ‘अहिले पनि संकट कायम छ, अबको संकटको अग्रगामी निकासका लागि सर्वपक्षीय सरकार गठन गरी नेपाली विशेषताको समाजवादका लागि संविधानको पूर्नलेखन गर्नुपर्छ । शासकीय रुवरुपमा परिवर्तन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानु पर्छ ।’
उहाँले नेपालमा गाँस,वाँस, स्वास्थ्य,शिक्षा निशुल्क हुने समाजवाद नेपाली जनतालार्ई चाहिएको भन्दै निजीकरण गरिएका उद्योगहरु राष्ट्रियकरण गरी युवा पुस्तालाई रोजगारीको ग्यारेण्टी गर्नु पर्ने बताउनु भयो ।
नेता असलले केपी ओली र सुशिला कार्की नेतृत्वको सरकारमा कुनै अन्तर नभएको ठोकुवा गर्दै यो सरकारबाट जेनजीहरुको समस्या समाधान नहुने दाबी गर्नु भयो ।
‘नेपालमा प्रगतिशील व्यवस्था दिन चाहान्छौ, संसदीय व्यवस्था होईन,आजका संसदवादी पार्टीहरु विघठन गरौं, यिनबाट देश चल्दैन,नयाँ पार्टी बनाउँ, पुराना नेतालाई विधाई गरौं, नत्र पुराना नेतासंगै कम्युनिष्ट जनमत सति जाने अवस्था भयो’ नेता असल सीले भन्नु भयो ।
उहाँले प्रचण्डका लागि गोली खाने एउटा जनयुद्धको सिपाही आफू पनि भएको स्मरण गर्दै करोडौको घडि लगाउने,घरमा पैसा र सुन भेटिने नेताहरुलाई कसरी कम्युनिष्ट नेता भन्ने ? प्रश्न गर्नु भयो ।
समाजवाद ठग र भ्रष्टहरुको नभएको जिकिर गर्दै नेता असलले इमान्दार नेताहरुको लागि समाजवादको नेतृत्व दिनु पर्ने विचार राख्नु भयो ।
उहाँले आफ्नो पार्टीले जेनजी पुस्तासंग एकता गरेर जेनजीहरुको अधुरो सपना पुरा गर्ने तिर नेकपा लाग्ने विचार राख्नु भयो ।
नेता असलले सच्चा क्रान्तिकारी वामपंथी शक्तिहरु पुरानो ठाउँबाट रुपान्तरण भएर माथि उठे नेकपा कम्युनिष्ट केन्द्र बनाएर एकता गर्न तयार भएको पनि बताउनु भयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवीहरुले जेनजी आन्दोलन सहि भएपनि घुसपैठले मुलुकमा ठुलो धनजनको क्षति भएको बताएका थिए । बक्ताहरुले पुरानो व्यवस्था नै समस्याको मुल कारण भएको भन्दै व्यवस्था बदल्न संविधानको संशोधन गर्नु पर्ने विचार राखेका थिए । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य नारायण सीको अध्यक्ष र सेक्रेटरी दिपक सीको संचालनमा सम्पन्न भएको थियो ।

